काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र ३२ हजार बढी सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३२ हजार ४२२ पुगेको छ। जसमध्ये सबैभन्दा बढी काठमाडौंमा २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं जिल्लामा अहिलेसम्म एक लाख ३६ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये अहिलेसम्म एक लाख ११ हजार १२६ जनाले कोरोना जितेका छन् भने ८०८ जनाको मृत्यु भएको छ।
२२ हजार ६५३ जनामा कोरोना पुष्टि भएको ललितपुर जिल्लामा १७ हजार ४४९ जनाले कोरोना जितेका छन्। ललितपुरमा मात्र २३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।
त्यसैगरी भक्तपुरमा १२ हजार ८७१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ९ हजार ७६० जनाले कोरोना जितेका छन् भने १६६ जनाको मृत्यु भएको छ। उपत्यकामा मात्र एक लाख ३८ हजार ३३५ जना कोरोनामुक्त भएका छन् भने १२ सय ४ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२० हजार ३६७ जनाको परीक्षण गर्दा आठ हजार ९७० र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनाको रिपोर्ट पोजिटिभ आएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५८० पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ।
२४ घण्टामा २७ सय ७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ९२ हजार ४९० पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ सय २९ पुगेको छ। अहिले ३१४ जना क्वारेन्टिनमा छन्।


नेपालमाला
