काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक केहि समयभित्रै सुरु हुन लागेको बालुवाटार स्रोतले जनाएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा वैशाख २७ गते लिने विश्वासको मत, राष्ट्रियसभा उपनिर्वाचन र विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित हुने बताइएको छ।
बैठकमा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भएको छलफल ब्रिफ्रिङ हुनेछ। त्यसैगरी राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका माधव-झलनाथ समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा पनि छलफल हुने बताइएको छ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन बनाउँदै यो गठबन्धनले राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेको हो।
बागमती प्रदेश नीति तथा योजना आयोगको पूर्वउपाध्यक्ष डा. देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनको साझा उम्मेदवार बन्न लागेका हुन्। उता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन्। माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

नेपालमाला
