काठमाडौं : धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्लेअफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखरा थन्डर्सलाई १–० गोलले पराजित गर्दै धनगढीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । धनगढी प्लेअफमा पुग्ने पहिलो टोली पनि बनेको छ ।
धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । खेलको ६८औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनको गोल निर्णायक बन्यो । डिबक्स बाहिरबाट दर्शनले उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफमा पोखराले खेलमा एकतर्फी पक्कड जमाएको थियो । गोलका लागि लगातार अवसर बनाए पनि सदुपयोग हुन नसक्दा पोखरा निरास बन्न पुगेको थियो । खेलको २६औं मिनेटमा पोखराका मौसा अब्बाले डिबक्सभित्रबाट प्रहार गरेको बल धनगढीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । ४०औं मिनेटमा पोखराले अर्को मौका गुमायो । मौसाको फ्रिकिकमा रवि पासवानको प्रहारलाई धनगढीका गोलरक्षक किरणले विफल पारेका थिए ।
खेलको ७३औं मिनेटमा पोखराका अनिल गुरुङको प्रहार धनगढीका डिफेन्डर दिनेश राजवंशीलाई लाग्दै पोस्टमाथिबाट बाहिरिएको थियो । यस्तै इन्जुरी समयमा पोखराका खेलाडीले मैदानको मध्य भागबाट प्रहार गरेको लामो प्रहार धनगढीका रमेश दंगालले हेडरमार्फत ब्याक पास दिँदा किरणले पोस्ट् बारबाट बाहिर फालेका थिए । त्यसको एक मिनेट नबित्दै मैदानको दायाँ भागबाट अनिल गुरुङले प्रहार गरेको चिप बललाई पनि किरणले नियन्त्रणमा लिएका थिए । खेलमा पोखराको तुलनामा धनगढीले कमै मात्र अवसर बनाउन सकेको थियो । २२औं मिनेटमा धनगढीका ओलावाले अफिजले गोलको राम्रो अवसर गुमाएका थिए । विशाल राईको फ्रिकिकमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई ओलावालेले पोस्ट्को दिशा दिन सकेनन् ।
खेलमा धनगढीका कप्तान किरण चेम्जोङ प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार पुरस्कार पाए । यस्तै इमर्जिङ प्लेयर अफ दी म्याच धनगढीका अशोक खवास घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
जितसँगै धनगढीले पाँच खेलबाट १० अंक जोड्दै लिगको शीर्ष स्थानलाई थप मजबुद पनि बनाएको छ । धनगढीले शनिबार बुटवल लुम्बिनीसँग लिगको अन्तिम खेल खेल्नेछ । धनगढीसँग पराजित पोखराको भने प्लेअफ सम्भावना कमजोर बनेको छ । पोखराले पाँच खेलमा पाँच अंक नै जोडेको छ । पोखरा लिगको पाँचौं स्थानमा झरेको छ । पोखराले आफ्नो अन्तिम खेल शुक्रबार चितवन एफसीसँग खेल्नेछ ।
पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगितामा सात टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् । जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।
Previous Article
नेपालगञ्ज मेडिकल कलेजले अब कोरोनाका थप बिरामी भर्ना नलिने
Next Article

नेपालमाला
