काठमाडौं : विराटनगर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा चितवन एफसीलाई २–० गोलले पराजित गर्दै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन पेड्रो मान्जी र सन्तोष तामाङले एक÷एक गोल गरे । लिगमा विराटनगरको दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३–० गोलले पराजित गरेको थियो ।
विराटनगरले सुरुवातबाटै आक्रमक खेल पस्किए पनि चितवनले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । खेलको २०औं मिनेटमा चितवनका जर्जप्रिन्स कार्कीको सशक्त फ्रिकिक विराटनगरका गोलरक्षक किशोर गिरीले विफल पारेका थिए । २३औं मिनेटमा विराटनगरका स्ट्राइकर पेड्रो मान्जीको क्रस बलमा पेनाल्टी क्षेत्रमा रहेका सुनिल बलको वान टच प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो । ३६औं मिनेटमा विराटनगरका एडिलाजा सोमिडेको हेड बलले पोस्ट्को दिशा लिन सकेन । ५१औं मिनेटमा पेड्रोले गोलको सुनौलो अवसर गुमाएका थिए । नीरकुमार राईको क्रसमा अनमार्क रहेका पेड्रोको प्रहार फितलो हुँदा गोलरक्षकले सजिलै समातेका थिए ।
खेलको ७३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । सुनिल बलको फ्रिकिकमा डिबक्सभित्र रहेका पेड्रोले उत्कृष्ट गोल गरेका थिए । ७४औं मिनेटमा जर्जप्रिन्स कार्कीको प्रहार पोस्टको नजिकैबाट बाहिरिदा चितवन बराबरी गोल गर्न असफल भएको थियो । ८१औं मिनेटमा चितवनका मनिष थापाले डिबक्स बाहिरबाट प्रहार गरेको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ८९औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई २–० को अग्रता दिलाएका थिए । फ्रिकिकमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा सन्तोषले उत्कृष्ट गोल गरेका थिए ।
विराटनगरका रञ्जीत धिमाल प्लेयर अफ दी म्याच चुनिए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दी म्याच विराटनगरका सुरज ठकुरी घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।
जितसँगै विराटनगरले चार खेलबाट सात अंक जोडेको छ । विराटनगरले सात अंक नै जोडेको धनगढी एफसीलाई गोल भिन्नताका आधारमा पछि पार्दै शीर्ष स्थान कब्जा गरेको छ । लिगको पुछारमा झरेको चितवनले भने चार खेलमा दुई अंक मात्र जोड्न सकेको छ । चितवनले दुई खेल बराबरी खेलेको थियो भने दुई खेलमा पराजय बेहोरेको छ । यो हारसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना थप कमजोर बनेको छ ।
सात टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् । जेठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले ३५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागततर्फका उत्कृष्टले जनही एक लाख रुपैयाँ पाउनेछन् ।
Next Article

नेपालमाला
