काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण व्यापक बढेको भन्दै आईसीयू र भेन्टिलेटरको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
शुक्रबार निजी निवास बूढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारसँग यस्तो आग्रह गरेका हुन्। संक्रमण व्यापक भएको अवस्थामा आईसीयू र भेन्टिलेटर बेडको अभावका समाचार आइरहेको भन्दै देउवाले यसतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका हुन्।
देउवाले सरकारलाई अक्सिजन आपूर्ति तत्काल अगाडि बढाउनसमेत भनेका छन्। ‘अत्यावश्यक अक्सिजन भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गरियोस्’, देउवाले भने, ‘आईसीयू बेड, आवश्यक औषधिको तत्काल व्यवस्था गरियोस्।’
सभापति देउवाले भारत र अन्य देशबाट आएकाको कन्ट्याक ट्रेसिङलाईसमेत विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनले सीमा नाकामा चेकजाँच र परीक्षणमा कडाई गर्नुपर्ने, होल्डिङ सेन्टरहरुको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले उपत्यकामा लकडाउन भए पनि दुई दिनको अवधिमा उपत्यकाबाट गाउँगाउँमा मासिन पुगेकाले सबैलाई सुरक्षित हुन अनुरोध गरेका छन्। उनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खोपको आपूर्तिलाई सहज बनाउनसमेत आग्रह गरेका छन्।

नेपालमाला
