नोयडा : अहिले छिमेकी मुलुक भारत कोरोना भाइरसको महामारीले निकै संकटमा परेको छ । भारतमा दैनिक साढे तीन लाखसम्म कोरोना संक्रमित बढिरहेका छन् भने मृत्यु हुनेको संख्या पनि दैनिक रुपमा बढिरहेको छ ।
यस्तोमा नोयडामा एउटा विक्षिप्त बनाउने एउटा तस्बिर भाइरल भइरहेको छ । आफ्नो एक्लो छोरालाई बचाउन आमा उत्तर प्रदेशका प्रमुख स्वास्थ्य अधिकृत (सीएमओ) को खुट्टा समाउन पुग्छिन् । छोराका लागि खोप उपलब्ध गराइदिन गिडगिडाउँछिन् । तर, पनि उनले खोप पाउँदिनन् । आफ्नो छोरालाई बचाउन सक्तिनन् ।
उनी सीएमओ डा. दीपक ओहरीलाई छोराको जीवन रक्षाका लागि रेमडेसिविर इन्जेक्सन उपलब्ध गराइदिन आग्रह गर्दछिन् । तर, विडम्बना यहीबीचमा उनका २४ वर्षीय छोराले संसार छाड्छन् ।

नोयडाको खोडा कोलनीका रिंकी देवीको एक्लो छोरो कोरोना संक्रमित हुन्छन् । उनको नोयडाकै एक अस्पतालमा उपचार चलिरहेको हुन्छ । अस्पतालका डाक्टरले रेमडेसिविर इन्जेक्सन ल्याउन भन्दै एउटा कागज दिन्छन् । उनी इन्जेक्सनका लागि विभिन्न ठाउँ धाउँछिन् । अन्तिममा त्यो इन्जेक्सन सीएमओको अफिसबाट मात्रै पाइने थाहा पाउँछिन् । उनी सेक्टर ३९ मा रहेको सीएमओ अफिसमा पुग्छिन् र त्यहाँको अधिकृतसँग रेमडेसिविर इन्जेक्सनका लागि याचना गर्छिन् । सीएमओले उनको पत्र हेर्छन र उनले भनेको इन्जेक्सन एकदमै कम भएकाले दिन नसक्ने बताउँछन् । इन्जेक्सन पाउने आशमा उनी चार बजेसम्म सीएमओ अफिसमै हुन्छिन् । इन्जेक्सन पाउन नसकेपछि निरास भएर ४ः३० मा अस्पताल पुग्दा उनको छोराले संसार छाडिसकेका हुन्छन् ।

नेपालमाला
