काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आईसीसी टीट्वान्टी वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् ।
आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए ।
नेपालमै भएको त्रिकोणात्मक टीट्वान्टी शृंखलामा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि उनी वरीयतामा समावेश भएका थिए । शृंखलाको उपाधि नेपालले जित्दा सर्वाधिक २७८ रन बनाएका उनले वरीयतामा धेरै स्थान सुधार गरेका हुन् ।
भुर्तेल बंगलादेशका शकिब अल हसन, भारतका सूर्यकुमार यादव र ऋषभ पन्त, अष्ट्रेलियाका स्टिभ स्मिथभन्दा अघि छन् । भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दे कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् । यस्तै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी ५६ स्थान सुधार गर्दै १०८ औं स्थानमा उक्लिएका छन् ।
टीट्वान्टी वरीयताको शीर्ष स्थानमा इङ्ल्यान्डका डाविड मालान छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका एरोन फिन्च, तेस्रो स्थानमा पाकिस्तानका बाबर आजम, चौथोमा न्युजिल्यान्डका डेभोन कन्वे र पाँचौं स्थानमा भारतका विराट कोहली छन् ।

त्रिकोणात्मक सिरिज नखेलेका पारस खड्का भने ८३ औं स्थानबाट ८८ औं स्थानमा झरेका छन् । बलिङतर्फ नेपाली लेग स्पीनर सन्दीप लमिछाने ७७ औं स्थानमै यथावत छन् । त्रिकोणात्मक शृंखलामा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए ।

नेपालमाला
