काठमाडौं : सरकारले दर्शकसहितको खेलकुदलाई बन्द गर्ने निर्णय गरेपछि काठमाडौंमा जारी त्रिकोणात्मक टीट्वान्टी क्रिकेट शृंखलामा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दर्शकसहित रंगशालामा हुने खेलकुद बन्द गर्ने निर्णय गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति निकाल्दै मंगलदेखि दर्शकलाई प्रवेश निषेध गरिने जनाएको छ ।
नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले एक विज्ञप्ति जारी गर्दै शृंखलाका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएका छन् । उनले यो निर्णयबाट क्रिकेटप्रेमीमा पर्न गएको असुविधाप्रति क्षमा याचना पनि गरेका छन् ।
भीडभाड हुने कार्यक्रममा जनस्वास्थ्यको मापदण्डको पालना गर्न कठिन हुने र कोरोनाको जोखिम कायमै रहने भएकाले सरकारले दर्शकलाई खेलकुद प्रतियोगितामा बन्द गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को बैठकले हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल र दर्शकसहितको रंगशाला हुने खेलकुद बन्द हुने बताएको छ ।
पछिल्लो समय देशभर कोरोनाको दोस्रो लहर सुरु भएसंगै सरकारले विद्यालय सहितका भिडभाड हुने स्थानलाई बन्द गर्ने निर्णय गरेको हो ।प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।


नेपालमाला
