काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार आह्वान गरेको छ ।पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, केन्द्रीय कमिटी बैठक बोलाउने लगायत विषयमा बैठकको छलफल केन्द्रित हुने बताइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अबको केही दिनमै काठमाडौँको राजनीति फेरिने प्रतिक्रिया दिएका छन् । कर्णाली प्रदेशमा माधव नेपाल समूहका सांसदले फ्लोर क्रस गर्दै माओवादी केन्द्रको सरकारलाई साथ दिएपछि काठमाडौँको राजनीति पनि प्रभावित बनेको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्दै माओवादी केन्द्र व्युँताइदिएपछि अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा छन् ।
तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।

नेपालमाला
