–मदन बस्नेत
हिजो घाम झुल्केकै दिशाबाट
आज पनि झुल्केको छ
सधैं अस्ताउने पश्चिम पुगेरै
अस्ताएको छ।
नयाँ केही छ कि भन्ने झिनो आशा राखेर
आँखा थाक्ने गरि
सामाजिक संजाल खंगाल्यो
पत्रपत्रिकाका पत्र पत्र पल्टायो
एक पछि अर्को गर्दै
भएभरका टिभी च्यानल बदल्यो
हिजैको जस्तै हिजो पनि
हिजोकै जस्तो आज पनि
सबै उस्तै दुरुस्तै ।
माथी माथी आकाशमा निस्फिक्री डुल्ने बादल
स्वच्छ मन्द गतिले बहिरहेको प्राणवायु
मन नै पुलकित बनाउने चराचुरुङ्गीका चिरबिर चिरबिर
चन्द्रमाको शितलता
सुर्यको तेज
सबका सब उस्तै छ्न्
सबैलाई सधैं निस्वार्थ
निस्शुल्क ।
घडा पला, तिथि मिति
क्यालेन्डरका गाता र शुभ साईतले
नयाँ बर्षको संकेत गरेर के गर्नु रु
हिजोको मसान्त र
आजको नयाँ दिनमा
भिन्न केही भेटिन्न
साम्य भैइसक्यो भन्ठानेको महाब्याधि
झनै उखरमाउलो बनेर उर्लिएको छ।
अरु त अरु
मान्छे देखेर मान्छे
डरले लुक्दै भाग्दै हिड्नु परेको छ।
साल बदलिएर के नयाँ बदलाब आउने हो र रु
बदलाब त हाम्रो बिचारमा आउनु पर्छ
व्यबहार, चिन्तन र दर्शनमाआउनु पर्छ।

नेपालमाला
