वीरगन्जमा कोरोना संक्रमण दर उच्च

वीरगन्ज : कोरोनाको पहिलो लहरका बेला कोरोना महमारीको हटस्पट बनेको वीरगन्जमा फेरि संक्रमणको दर उच्च देखिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा आइतबार बेलुकी ६० जनाको पीसीआर परिक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको छ। आइतबार बेलुकी ६० जनाको स्वाब नमुना परिक्षण गर्दा पर्साका २३ र बाराका ५ गरी २८ जनामा संक्रमण भेटिएको हो। परीक्षण गराएका मध्ये झण्डै आधामा संक्रमण भेटिएको हो।

संक्रमण पुष्टि भएका पर्साका २३ मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै २१ जना छन्। पर्साको विन्दवासिनी गाँउपालिका र बहुदरमाइ नगरपालिकाका १÷१ जना छन्। यस्तै संक्रमण पुष्टि भएका बाराका ५ जनामध्ये कलैया उपमहानगरपालिका १ जना, जितपुर सिमरा उपमहानगरपालिकाका २ जना, कोहल्बी नगरपालिकाका १ जना र परवानीपुर गाँउपालिका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए।

वीरगन्जमा असोज १२ गतेपछि आइतबार (चैत २९) एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमति थपिएका हुन्। असोज १२ मा १९२ जनाको स्वाब परिक्षण गर्दा २४ जनामा मात्र संक्रमण भेटिएको थियो। तर आइतबार बेलुकी ६० जनाको मात्रै परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो। वीरगन्जमा पछिल्लो एक हप्तामा मात्रै ८७ जना नयाँ संक्रमित थपिएका छन्।

चैत २३ देखि चैत २९ सम्म वीरगन्जको नारायणी अस्पतालमा २ सय ११ जनाको पिसीआर परिक्षण गर्दा ८७ जनामा संक्रमण भेटिएको हो। तीमध्ये पर्साको मात्रै ५९ जना छन्। २७ जना बाराका र १ जना सर्लाहीका छन्।  चैत २३ गते २८ जनाको परीक्षण गर्दा ७ जना, २४ गते ३४ जनामध्ये १३ जना, २५ गते ३४ जनामध्ये १५ जना, २६ गते २७ जनामध्ये ९, चैत २७ गते ३६ जनामध्ये १५ र चैत २९ गते ६० जनामध्ये २८ जनामा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिए। चैत महिना यता थपिएका संक्रमितहरुमा अधिकांश युवा उमेर समूहका रहेको डा. दासले बताए।

संक्रमण पुनः समुदाय स्तरमै फैलिएको संकेत 
नारायणी अस्पतालका डा. उदयनारायण दासले पर्सामा फेरि संक्रमण समुदायस्तरमै पुगिसकेको संकेत देखा परेको बताए। भारतमा संक्रमणको दोश्रो लहर सुरु भएपछि पर्सामा पनि सुरुवातमा भारतबाट आउने मात्र संक्रमण देखिएको भएपनि पछिल्लो समय समुदायकै मानिसमा संक्रमण भेटिन थालेको बताए डा. दासले बताए। उनले कोरोनाको परीक्षण गराउन आउनेहरुमा लक्षण देखिएर आउनेहरु बढी रहेको बताए। ‘रुघाखोकी, निमोनियाका कडा लक्षण भएकाहरु मात्रै कोरोनाको जाँच गराउन अस्पताल आइरहेका छन्’, उनले भने, ‘परीक्षण गराउन आएका प्रायमा संक्रमण भेटिएको छ।’

सामान्य लक्षण भएकाहरु भने परीक्षणका लागि नआएकाले उनीहरुबाट समुदायमा संक्रमण फैलिरहेको उनको भनाइ छ। परीक्षणको दायरा बढाउने हो भने अझै धेरै संक्रमित थपिदै जाने अवस्था रहेको पनि उनले बताए।

नाकामा छैन सावधानी 
खुल्ला सीमा जोडिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भएपनि वीरगन्ज नाकामा कडा सावधानी अपनाइएको छैन।

रक्सौल वीरगन्ज नाका हुँदै दैनिक हजारौं मानिस सहज रुपमा नेपाल प्रवेश गरिरहेका छन्।

वीरगन्ज नाकामा महानगरपालिकाले हेल्थ डेस्क स्थापना त गरेको छ। तर डेस्कमा ४ जना मात्र स्वास्थ्यकर्मी खटाइएको र उनीहरुले २ सिफ्टमा काम गरिरहेकाले भारतबाट भित्रिने सबैको परीक्षण हुन सकिरहेको छैन।

नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबारसम्म १ सय ४७ जनाको  एन्टीजीन परीक्षण गर्दा ती मध्ये ३ जनामा कोरोना संक्रमण देखिएको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुउल्लाह हवारीले बताए।

यसैबीच आइतबार बसेकोे जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउने निर्णय गरेको छ।

छिमेकी मुलुक भारतमा कोभिड–१९ कोे दोस्रो लहर बढेसँगै नेपालमा पनि कोरोनाको संक्रमित बढ्दै गएको र देशकै प्रमुख प्रवेशद्वार वीरगञ्ज सबभन्दा जोखिममा भएकोले पूर्व तयारीका साथ सतर्कता अपनाउनका लागि विभिन्न निर्णयहरु गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

बैठकले २५ जना भन्दा बढी मानिस एक ठाउँमा भेला हुन नदिने निर्णय गरेको छ। यस्तै नेशनल मेडिकल कलेजले यसअघिको कोरोना महमारीका बेला सञ्चालन गरेको १७० बेडको कोरोना अस्थायी अस्पताललाई  पुनः सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, अन्य निजी अस्पतालहरुले कोरोना संक्रमितका लागि छुट्टै वेडको व्यवस्था गरेर राख्ने  निर्णय बैठकले गरेको छ।

भारतबाट लामो बसाइ बसेर आएका व्यक्तिलाई कम्तिमा १० दिन क्वारेन्टिइनमा राख्ने व्यवस्था गर्ने, प्रत्येक स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्ने, होटलहरुलाई पनि आइसोलेसनको रुपमा प्रयोग गर्न सकिने, राति ९ बजेपछि कुनैपनि पसल बजारहरु खोल्न नदिने निर्णय गरिएको पौडेले जानकारी दिए।

घरबाहिर निस्किदा अनिवार्य रुपमा मास्क र सेनीटाईजरको प्रयोग गर्ने, मास्क नलगाएका व्यक्तिलाई र जनस्वास्थ्य मापदण्ड नअपनाएका व्यक्तिलाई संक्रामक ऐनअनुसार कारवाही गर्ने  समेत बैठकले निर्णय गरेको उनले बताए।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments