म्यानमारमा रोकिएन नरसंहार : सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या भएको स्थानीय मिडियाको दाबी

काठमाडौं : सैनिक ‘कु’विरुद्ध म्यानमारमा हरेक दिन आन्दोलन भइरहेको छ । आन्दोलनमा सहभागीमाथि दमन र हत्या मात्र होइन नरसंहार नै भइरहेको समाचार बाहिर आइरहेको छ । यसैबीच म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् ।

म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएका हुन् ।स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले सैन्य कूविरुद्ध प्रदर्शनमा उत्रिएका ८२ जनाको सुरक्षाकर्मीले हत्या गरेको उल्लेख गरेको छ ।

म्यानमारका स्थानीय मिडियाका रिपोर्टर तथा प्रत्यक्षदर्शीहरुका अनुसार यांगुनको उत्तरपूर्वस्थित बगो शहरमा सुरक्षाकर्मीहरुले शनिवार गरेको हत्याको संख्या सुरुमा पत्ता लगाउन सकिएको थिएन । पछि सुरक्षाकर्मीहरुले शवलाई एकमाथि अर्को खात लगाएर राखेको र त्यसलाई चारैतिरबाट घेरेको देखेको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्यानमार नाउका अनुसार सेनाले शुक्रबार विहानदेखि नै गोली चलाउन सुरु गरेको थियो र यो दिउँसोसम्म जारी रह्यो । म्यानमारका सामाजिक सन्जालमाहरु लेखिएअनुसार धेरै व्यक्तिहरु आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् ।

एएपीपीका अनुसार सुरक्षाकर्मीबाट मारिएका र गिरफ्तार गरिएकाहरुको दैनिक सूची तयार पार्ने काम भइरहेको छ । सो संस्थाका अनुसार गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएयता हालसम्म ६ सय १८ जना प्रदर्शनकारीको हत्या भइसकेको छ । यद्यपि म्यानमारको सेनाले भने यो दाबीलाई अस्वीकार गरेको छ ।

म्यानमारको जुन्ता सरकारका प्रवक्ता मेजर जनरलले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेनाको तर्फबाट २ सय ४८ जना नागरिक र प्रदर्शनकारीबाट १६ जना प्रहरी मारिएको जानकारी दिएका थिए । उनले प्रदर्शनकारीमाथि कुनै प्रकारको स्वचालित हतियार प्रयोग नगरिएको दाबीसमेत गरे ।

गत फेब्रुअरीमा सेनाले म्यानमारको स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । गत नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेर जितेकाले सत्ता हातमा लिएको सेनाको भनाइ छ । म्यानमारको निर्वाचन आयोगले भने चुनावमा धाँधली नभएको बताएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments