कांग्रेस नेतृत्वको सरकार बनाउन देउवाको प्रस्ताव, जसपा अलमलमै

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार बूढानीलकण्ठमा भएको छलफलमा सभापति देउवाले यस्तो प्रस्ताव गरेका हुन्। सत्ता समीकरणको विषयमा छलफलका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेता शुक्रबार दिउँसो बूढानीलकण्ठ पुगेका हुन्।

सभापति देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरे पनि बैठक बिना निष्कर्ष टुंगिएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। देउवाको प्रस्तावमा माओवादी केन्द्र सहमत भए पनि जसपाले यसबारे छलफल गर्न थप समय मागेको छ।  केन्द्रीय समितिको निर्णय अनुसार देउवाले बैठकमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोगका लागि प्रस्ताव अघि सारेका हुन्।

देउवाले कांग्रेस नेतृत्वमा सरकार बनाउन सहयोग गर्न आग्रह गरेको र त्यसका लागि जसपाले समय मागेको प्रवक्ता श्रेष्ठले बताए । ‘छलफलमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्व सरकार बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ’, माओवादी प्रवक्ता श्रेष्ठले भने, ‘जसपाले पहिलो पटक औपचारिक रुपमा प्रस्ताव आयो, यो विषयमा हामी छलफल गरेर आवश्यक निर्णय लिन्छौँ भन्नुभएको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार देउवाको प्रस्तावलाई माओवादीले सकारात्मक भन्दै समर्थन गरेको छ । अब जसपाले निर्णय गरेपछि फेरि बैठक बस्ने भन्दै छलफल सकिएको उनको भनाइ छ ।

‘हामीले (माओवादी) चाहिँ कांग्रेसको प्रस्ताव सकारात्मक छ भनेर समर्थन गरेको छ । अब जसपाले छिट्टै केही निर्णय गरोस् भनेर भन्यौँ’, श्रेष्ठले थपे, ‘जसपाले निर्णय गरेपछि फेरि तीन पार्टीको बैठक बस्ने र यसको विषयमा आवश्यक निर्णय लिने भनेर आजको बैठक सकियो ।’

तीन दलबीचको बैठकमा संसद पुनर्स्थापनापछिको राजनीतिक शून्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारीलगायतका विषयमा  औपचारिक छलफल भएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्‍त्री केपी ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर अहिलेसम्म ठोस रुपमा संवाद हुन सकेको थिएन।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको झन्डै डेढ महिना वितिसक्दा पनि  संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छ न त प्रधानमन्‍त्री ओली नेतृत्वको सरकारको निरन्तरता सुनिश्‍चित भइसकेको छ।

आन्तरिक दबाबमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीको राजीनामा माग्‍ने औपचारिक निर्णय गर्न तयार भए पनि नयाँ समीकरण बनाउन विश्‍वसनीय वातावरण अझै बन्न सकेको छैन । शुक्रबारको छलफलमा देउवाले सरकारको नेतृत्वमा सहयोग गर्न पहिलो पटक औपचारिक रुपमा अनुरोध गरेका हुन् ।

देउवाको यो प्रस्तावले जसपालाई संस्थागत निर्णय गर्न दबाब बढेको छ। छोटो समयका लागि सरकारमा गएर अल्झिनुभन्दा चुनावमा जानु पर्नेमा देउवाले जोड दिदै आएका छन्। अहिले सरकार र विपक्षी दुवैतिरबाट जसपालाई फकाउने काम भइरहेको छ।

संसदको नयाँ अंकगणितमा  निर्णायक खेलाडीका रुपमा रहेको जसपाले अहिलेसम्म कुनै संस्थागत निर्णय गरेको छैन। दुवै पक्षले जसपालाई आफूतिर तान्‍ने कोसिस गरिरहेका छन् र फकाउने प्रयास भइरहेको छ।

सत्ता साझेदारीका लागि बालुवाटारसँग नजिकिएको जसपा पनि कांग्रेसको निर्णयपछि फेरि थप आन्तरिक परामर्शमा जुटेको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्‍न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। यसमा केही निलम्वित र केही निधनले गर्दा रिक्त छन्। अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६ (२ निलम्वित), माओवादी केन्द्रका ४८ (सभामुख मतदान गर्न नमिल्ने र चारजना रिक्त) र जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्‍त्र हैसियतमा छन्। ओलीलाई सुरक्षित हुन सिंगो जसपा पनि आवश्यक पर्दैन। १७ मत मात्रै भए ओली सुरक्षित हुन्छन्। त्यसैले सकेसम्म सिंगै जसपासँग सहकार्य गर्ने र त्यो संभव नभए फुटाएर भए पनि आवश्यक संख्य जुटाउने रणनीतिमा बालुवाटार छ।

छलफलमा कांग्रेस सभापति देउवासहित अन्य वरिष्ठ नेता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता उपेन्द्र यादव, महन्थ ठाकुरलगायत नेता सहभागी थिए।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments