धरान : झापाकी अविगेल निरौला र धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को फाइनलमा प्रवेश गरेका छन् । धरानमा जारी प्रतियोगिताको महिला ४८ केजी तौलसमूहमा अविगेलले दमककी अनुशाा खवास र रामकुमारीले दमककै इष्मा मोखिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
यसैगरी पुरुष ४९ केजी तौलसमूहमा दमकका दिवस राई र उदयपुरका दीपेन्द्र मगर उपाधि नजिक पुगे । दिवसले विराट बक्सिङ क्लबका दीपेश देउजा र दीपेन्द्रले झापाका अविक राईलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । पुरुषकै ५२ केजी तौलसमूहमा धरानका चुपेन राईले उदयपुरका योगेन्द्र सुनुवार एवं धरानकै सिंहवीर लिम्बूले दमकका मनिकुमार लिम्बूलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भए ।

पुरुषकै ५६ केजीमा झापाका भिक्टर राई र धरानका सौगात लामाबीच उपाधि भिडन्त हुने भएको छ । भिक्टरले उदयपुरका भूपाल दियाली र सौगातले दमकका दिप्सन राईलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । पुरुषकै ६० केजीमा उदयपुरका रोजन मगरले विराट बक्सिङ क्लबका कपेश गौतम र धरानका सगाम चौधरीले सुनसरीका जुगल गिरीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।
पुरुषकै ६४ केजीमा धरानका उज्ज्वल श्रेष्ठ र सुनसरीका धिरज गुरुङले उपाधि भिडन्त पक्का गरे । उज्ज्वलले दमकका शितल बस्नेत र धिरजले धरानका दुर्गा भण्डारीलाई पराजित गरे । पुरुषकै ७५ केजी तौल समूहमा धरानका अमृत लिम्बूले फाइनलमा स्थान बनाए । उनले विराट बक्सिङ क्लबका विशेष शाक्यलाई पराजित गरे ।
सुनसरी जिल्ला बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिका र गणेशमान सिंह स्पोर्ट्स कमिटीको विशेष सहयोगमा आयोजना भएको प्रतियोगितामा महिलातर्फ ५ र पुरुषमा ७ तौलसमूहमा प्रतिस्पर्धा भएको छ । जसमा महिलातर्फ ११ र पुरुषमा २९ गरी ४० बक्सरले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजक जिल्ला बक्सिङ संघ सुनसरीका अध्यक्ष विकास गुभाजुले जानकारी दिए ।

प्रतियोगिताको दोस्रो दिन खेलाडीको हौसला बढाउन राष्ट्रिय खेलकुद परिषद्का सदस्यचिव रमेशकुमार सिलावाल प्रतियोगिता स्थल आइपुगेका थिए । उनले प्रतिभावान खेलाडी उत्पादन गर्न र उनीहरुको खेल कौशल जाँच्ने महत्वपूर्ण कडी नोभिस प्रतियोगिता भएको भन्दै सुनसरी जिल्ला बक्सिङ संघको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकास गुभाजु र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ का संयोजक अभिषेक श्रेष्ठले सदस्यसचिव सिलवाललाई मायाको चिनो प्रदान गरेका थिए ।

नेपालमाला
