धरान : धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेकी छन् । बिहीबारबाट धरानमा सुरु प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा दमक क्लबकी स्मिता बस्नेतलाई पराजित गर्दै रामकुमारी सेमिफाइनलमा पुगेकी हुन् ।

यसैगरी पुरुष ४९ केजी तौल समूहमा झापाका अविक राई र उदयपुरका दीपेन्द्र मगरले सेमिफाइनलमा स्थान बनाए । अविकले क्वार्टरफाइनलमा उदयपुरका रोशन राई र दीपेन्द्रले धरानका पारस तामाङलाई पराजित गरे । पुरुषकै ५२ केजी तौल समूहमा दमकका मनिकुमार लिम्बू र धरानका सहवीर लिम्बूले अन्तिम चारमा स्थान बनाए । क्वार्टरफाइनल भिडन्तमा मनिकुमारले धरानका पुजन आङदम्वे र सहवीरले विराट बक्सिङ क्लबका शेखर लिम्बूलाई पाखा लगाए ।

पुरुषकै ७ केजी तौल समूहमा दमकका दिप्सन राईले विराट बक्सिङ क्लबका सुमन शाह र धरानका सौगात लामाले सुनसरीका शुभम भुजेललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।

तीन दिने प्रतियोगिताको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले उद्घाटन गरे । नगर प्रमुख राईले रेफ्री जर्ज आशिष लिम्बूलाई ग्लोब्स हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा महिलातर्फ ११ र पुरुषमा २९ गरी ४० बक्सरले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सुनसरी बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिका र गणेशमान सिंह स्पोर्ट्स कमिटीको विशेष सहयोगमा आयोजना गरिएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषमा सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठ सम्मानित

यसैगरी नेपालमा बक्सिङ खेलको विकास, विस्तार एवं श्रीवृत्तिमा महत्वपूर्ण योगदान पु¥याएका नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठलाई आयोजक सुनसरी जिल्ला बक्सिङ संघले विशेष सम्मानबाट सम्मानित गरेको थियो । निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले सम्मान गरेका थिए ।
नगरप्रमुख राईले निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ र केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले नेपाली बक्सिङको विकासमा पु¥याएको योगदान अतुलनीय रहेको बताए ।

नेपालमाला
