काठमाडौं : एएफसी कप फुटबलको प्लेअफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंकन पुलिस स्पोर्ट्स क्लबमाथि गोल वर्षा गरेको छ । दशरथ रंगशालामा बुधबार भएको पहिलो लेगको खेलमा आर्मीले श्रीलंकन पुलिसलाई ५–१ को फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै आर्मी प्लेअफको दोस्रो चरणमा प्रवेश गरेको छ ।
आर्मीलाई फराकिलो जित दिलाउन नवयुग श्रेष्ठले दुई गोल गरे । यस्तै सन्तोष तामाङ, टंकबहादुर बस्नेत, सुदिल राईले एक/एक गोल गरे । श्रीलंकन पुलिसका इभान्सले एक गोल फर्काएका थिए ।
श्रीलंकन पुलिसविरुद्ध आर्मी सुरुवातबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । खेलको १०औं मिनेटमा आर्मीका सन्तोष तामाङको डिबक्स बाहिरबाटको सशक्त प्रहार श्रीलंकन पुलिसका गोलरक्षक दिनेश महिन्दरणले विफल पारेका थिए । १२औं मिनेटमा भरत खवासले गोलरक्षक दिनेशलाई बिट गर्दै प्रहार गरेको बल श्रीलंकन पुलिसका निकोलसले गोललाइनबाट बचाएका थिए । त्यसलगत्तै १३औं मिनेटमा भरतको उत्कृष्ट हेड बललाई गोलरक्षकले पन्च गर्दै बचाउ गर्दा आर्मी अग्रता बनाउनबाट चुकेको थियो ।
आर्मीले लगातार पोस्ट् आक्रमण बुने पनि खेलको २८औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंकन पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा आर्मीले खेल १–१ को बराबरी गरेको थियो । सन्तोष तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ४३औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि आर्मीले श्रीलंकन पुलिसको पोस्ट्मा लगातार आक्रमण बुनेको थियो । ५०औं मिनेटमा टंकले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए । ८३औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ४–१ को अग्रता दिलाए । उनी ६३औं मिनेटमा टंकको स्थानमा मैदान प्रवेश गरेका थिए । त्यसपछि खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५–१ को जित दिलाए । अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ मा हुनेछ । भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्लेअफको फाइनल खेल खेल्नेछ । प्लेअफको विजेताले समूह चरणको समूह ‘डी’ मा स्थान बनाउने छ । समूह ’डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एन्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।
एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेलेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बने पनि मच्छिन्द्रको क्लब लाइसेन्स नहुँदा आर्मीले प्लेअफ खेल्ने मौका पाएको हो ।
खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपाने टोलीको लक्ष्यलाई खेलाडीले सफल बनाएको बताए । ‘हामीले जितका लागि खेलेका थियौं । त्यो लक्ष्यमा खेलाडीले उच्च मनोबलका साथ खेल्दै घरेलु दर्शकलाई खुसी बनाए’, उनले भने । श्रीलंकन पुलिसका प्रशिक्षक झिलाउ अल्पेन्सुले राष्ट्रिय खेलाडी नहुँदा पनि टोलीले सन्तोषजनक खेल खेलेको बताए ।

नेपालमाला
