काठमाडौं : नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीले आयोजना गर्न लागेको ‘उसु अवार्ड’ नेपाल उसु महासंघको आधिकारिक कार्यक्रम नभएको भन्दै भ्रममा नपर्न सम्पूर्ण खेलाडी, प्रशिक्षक एवं खेलप्रेमी महानुभावहरुमा आग्रह गरेको छ ।
नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव ल्हाक्पाछिरिङ लामाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी उक्त अवार्ड कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्को नियमावली तथा महासंघको विधान अनुसार स्वयंम्सेवक प्रशिक्षक महासंघको आधिकारिक संस्था नभएको जनाएको छ ।
‘राष्ट्रिय खेलकुद परिषद्को नियमावली तथा महासंघको विधान अनुसार स्वयंसेवक प्रशिक्षक महासंघको आधिकारिक संस्थाको रुपमा नरहेको हुँदा उक्त कार्यक्रम नेपाल उसु महासंघको आधिकारिक कार्यक्रम नभएकाले सम्पूर्ण खेलप्रेमी दिदी बहिनी तथा दाजुभाइहरु भ्रममा नपर्नु हुन हार्दिक अनुरोध गरिन्छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले सम्मान तथा उसु अवार्ड कार्यक्रमको घोषणा केन्द्रीय कार्यसमितिको बैठकले गरिसकेकाले चाँडै नै कार्यक्रम आयोजना गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्वयंसेवक प्रशिक्षक कमिटीले भने उसु अवार्डका लागि बुधबार नागरिक विकास वचत तथा ऋण सहकारी लिमिटेड र योयो बैंक्वेटसँग त्रिपक्षीय सम्झौता गरेको थियो । नागरिक विकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका योयोका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । अवार्ड कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित योयो बैंक्वेटमा शनिबार हुने जनाइएको छ ।


नेपालमाला
