फ्लोरिडा : जापानी टेनिस स्टार नाओमी ओसाका मियामी ओपन टेनिसको क्वार्टरफाइनलमै रोकिएकी छन् । अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलमा ओसाका ग्रिसकी मारिया सक्कारीसँग क्वार्टरफाइनलमै पराजित भएकी हुन् ।
सक्कारीसँग ६–०, ६–४ को सोझो सेटमा पराजय बेहोरेपछि विश्व नम्बर दुई ओसाकाको २३ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । ओसाकाविरुद्ध सक्कारीले आक्रामक सुरुवात गरेकी थिइन् । २३औं वरीयताकी सक्कारीले ओसाकाले गरेको १२ गल्तीको फाइदा उठाउँदै २१ मिनेटमै पहिलो सेट जितेकी थिइन् । पहिलो सेट ६–० ले हारेपछि दोस्रो सेटमा लयमा फर्किएकी ओसाकाले ३–० को अग्रता पनि बनाएकी थिइन् । तर, त्यसपछि २५ वर्षीया सक्कारीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारिन् ।
ओसाकालाई हराएपछि सक्कारीले केही समय ठूलो स्वर गर्दै खुसी मनाए पनि पछि निकै भावुक बनेकी थिइन् । यो सक्कारीको खेल करियरकै सबैभन्दा ठूलो सफलता हो । उनले पहिलो पटक विश्व वरीयताको शीर्ष तीन स्थान पाएका खेलाडीलाई पहिलो पटक पराजित गरेकी हुन् । ‘यो सफलतालाई बयान गर्ने मसँग कुनै शब्द नै छैन’, सक्कारीले भनिन्, ‘म निकै खुसी छु र निकै उत्साहित पनि ।’
सक्कारीले उपाधिका लागि २५औं वरीयताकी क्यानडाकी बियांस्का एन्ड्रिस्क्यु वा अनसिड स्पेनकी सारा सोरिबेस टर्मोसँग प्रतिस्पर्धा गर्ने छिन् ।
ओसाका अन्तिम १६ को खेलमा बेल्जियमकी एलिस मेर्टेन्सलाई पराजित गर्दै पहिलो पटक मियामी ओपन टेनिसको क्वार्टरफाइनलमा पुगेकी थिइन् । सक्कारीले भने अमेरिकाकी जेसिका पेगुलालाई पराजित गर्दै ओसाकासँगको भेट पक्का गरेकी थिइन् ।
Previous Article

नेपालमाला
