काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले सोमबार चिरप्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ हुने फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने दाउ नेपालको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि नेपालको मुख्य लक्ष्य बंगलादेशलाई हराएर उपाधि जित्नु रहेको बताए । थ्री नेसन्स कप फुटबलको फाइनलअघि आइतबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले नेपाली टोलीको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका हुन् ।
‘प्रतियोगितामा हामीले दुई खेल खेल्यौं । दुवै खेलमा सोचे अनुरूपकै प्रदर्शन पनि गरिरहेका छौं । तर, गोल भने हुन सकेको छैन’, मुख्य प्रशिक्षक महर्जनले भने, ‘गोल नगरी उपाधि जित्न सकिँदैन । त्यसैले हाम्रो मुख्य लक्ष्य भनेको गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्नु हो ।’
उनले सोमबार हुने फाइनलमा टोलीमा केही परिवर्तन गर्ने बताए । ‘फाइनल खेलमा सुरुआती–११ मा केही परिवर्तन हुन सक्छ । त्यसका लागि गृहकार्य गर्दैछु’, महर्जनले भने, ‘हामीलाई जसरी पनि गोल चाहिएको छ ।’
नेपालले अघिल्ला दुई खेलमा सुरुआती–११ मा परिवर्तन गरेको थिएन् । सुरुआती–११ मा केही युवा खेलाडीहरूलाई अवसर दिइएको थियो ।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि नेपाललाई उपाधि दिलाउन सबै खेलाडीले मेहनत गरिरहेको बताए । उनले आफ्नो कप्तानीमा उपाधि जित्दा थप सुखी मिल्ने मिलाए । ‘सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । म पनि आफ्नो कप्तानीमा उपाधि दिलाउन तत्पर छु’, उनले भने ।
यसैगरी बंगलादेशका प्रशिक्षक जेम्स डेले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताए । उनले नेपाललाई घरेलु मैदान र दर्शकको साथ रहने भएकाले खेल प्रतिस्पर्धात्मक हुने दाबी गरे । ‘फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलीलाई दर्शकको राम्रो समर्थन रहँदै आएको छ’, उनले भने, ‘घरेलु टोलीविरुद्ध फाइनलमा सुधारिएको प्रदर्शन गर्नेछौं ।’ उनले सिंगो प्रतियोगितामा गोलको खडेरी रहे पनि फाइनलमा राम्रै गोल हुने विश्वास व्यक्त गरे । ‘नेपाल र बंगलादेश मात्र होइन, सिंगो दक्षिण एसियाली राष्ट्रले गोलका लागि निकै संघर्ष गर्नुपर्छ’, जेम्सले भने, ‘दक्षिण एसियामा रक्षात्मक खेल खेलिने भएकाले पनि गोल कम हुने गरेको छ । तर, यो खडेरीलाई फाइनलमा तोड्छौं ।’
बंगलादेशका कप्तान जमाल भुयानले उपाधि जित्न टोलीका लागि सुनौलो अवसर रहेको बताए । ‘हामीलाई उपाधि जित्न यो सुन्दर अवसर हो । हामीसँग राम्रा र अनुभवी खेलाडी छन्’, उनले भने ।
थ्री नेसन्स कप फुटबलमा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । पहिलो खेलमा किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको नेपालले शनिबार बंगलादेशसँग पनि गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको बंगलादेश भने शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।
नेपालले सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप तयारीका लागि त्रिदेशीय प्रतियोगिता आयोजना गरेको हो । तीन देश सम्मिलित प्रतियोगितामा राउन्ड रोबिन लिगमा शीर्ष स्थान हासिल गरेका बंगलादेश र नेपालले फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिताको विजेता टोलीले पाँच हजार र उपविजेताले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
Previous Article
मुलुकभर नै देखिएन होलीको रौनक
Next Article

नेपालमाला
