काठमाडौं : सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप भव्य रुपमा सम्पन्न भएको छ । एक दिने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १६ डोजाङका तीन सय खेलाडीले प्रतिस्पर्धा गरेको सीतापाइला तेक्वान्दो डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए ।

च्याम्पियनसिपमा हरेक बेल्ट तथा तौल समूहमा ग्योरोगी र पुम्से दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो ।
सीतापाइला तेक्वान्दो डोजाङले प्रतियोगिताभन्दा पनि तेक्वान्दोको महोत्सव आयोजना गरेको थियो । जहाँ सबै बेल्ट र तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने मात्र होइन, पदक पनि पाएका थिए । साना उमेर तथा तौल समूहका खेलाडीलाई पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसरका साथै उनीलाई एक्सपोजर दिन महोत्सव खालको च्याम्पियनसिप आयोजना गरिएको प्रतियोगिता संयोजक सिवाकोटीले जानकारी दिए ।

‘हामीले प्रतियोगिताभन्दा पनि तेक्वान्दोको महोत्सव गरेका हौं । सबै खेलाडीले खेल्न सकुन् भनेर हरेक बेल्टका साथै तौल समूहमा प्रतिस्पर्धा गराएका थियौंैं’, सिवाकोटीले भने, ‘यसले प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न खेलाडीहरुको मनोबल बढाउनुका साथै उनीहरुले आफूले आफूलाई जाँच्ने अवसर पनि पाउँछन् ।’

प्रतियोगिताका पदक विजेता खेलाडीलाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारी, राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी, सीतापाइला तेक्वान्दो डोजाङका अध्यक्ष गोपाल न्यौपाने, ओलम्पियन निशा रावल र १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता कमल श्रेष्ठलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सांसद श्रेष्ठले यस्ता प्रतियोगिताले सानो उमेरदेखि नै खेलाडीले निखार्ने अवसर पाउने बताए । उनले विगत लामो समयदेखि च्याम्पियनसिप आयोजना गर्दै आएकोमा सीतापाइला तेक्वान्दो डोजाङलाई धन्यवाद दिए ।

कार्यक्रममा तेक्वान्दोका पूर्व खेलाडी गोपाल भण्डारी, समाजसेवी शिव महर्जन र संगीता बढाथोकीलाई सम्मान गरिएको थियो ।


संघीय सांसद जीवनराम श्रेष्ठबाट सम्मान लिँदै समाजसेवी संगीता बढाथोकी ।


नेपालमाला
