काठमाडौं : वीर गणेशमान सिंह टेन–के रोड रेसमा करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शनिबार बिहान हुने दौडमा नेपाल, भारत, सिंगापुरसहित करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।
शनिबार हुने दौडमा १३औं दक्षिण एसियाली खेलकु (साग) का स्वर्ण विजेता गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठलेसमेत दौडने भएका छन् । दुवै खेलाडी अघिल्लो संस्करणका पनि विजेता हुन् ।
१० किलो मिटरको रोड रेसमा महिला तथा पुरुषतर्फका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै छैटौंदेखि दशौंसम्मकालाई समान ४–४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने बताए । दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्नेलाई १० हजारले पुरस्कृत गरिने बताइएको छ ।
दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा समापन हुनेछ ।
Previous Article

नेपालमाला
