बुलिस ट्रेन्डमा फर्कियो सेयर बजार

काठमाडौं : केही दिनदेखि सुस्ताएको सेयर बजारमा सुधार देखिएको छ। राजनीतिक अन्योललाई बेवास्ता गर्दै सेयर बजार  बुलिस ट्रेन्ड’मा फर्किएको विश्‍वास लगानीकर्ताले गरेका छन्।लगातार एक साता घटेको बजार बुधबार हरियाली भएको छ।

बुधबार नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा उक्लिएको  छ। ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार सबै समूहका सूचकमा हरियाली छाएको छ । तुलानात्मक रुपमा माइक्रोफाइनान्स, जीवन बिमा, होटेल तथा पर्यटन र अन्य समूहमा उछाल देखिएको छ ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि उत्पन्‍न राजनीतिक भ्याकुमसँगै  सेयर बजार अलि सुस्ताएको थियो। एमाले र माओवादी केन्द्रलाई ब्युँताउने र नेकपाको एकता बदर गर्ने सर्वोच्चको पछिल्लो फैसलापछि राजनीतिक संक्रमणले झन् जटिल मोड लिएपछि त्यसको मनोबैज्ञानिक असर सेयर बजारमा देखिएको थियो। तर राजनीतिक लफडालाई बेवास्ता गर्दै लगानीकर्ताहरू सेयर बजारमा आत्मविश्‍वासका साथ सक्रिय भएपछि बजार फेरि लयमा फर्किएको छ। पुस ५ मा संसद विघटनपछि पनि सेयर बजारमा निरन्तर उछाल देखिएको थियो। त्यो उछालले पनि ‘राजनीति’ले सेयर बजारलाई खासै ड्राइभ गर्दैन भन्‍ने आत्मविश्‍वास लगानीकर्तामा विकास भएको थियो। राजनीतिक अन्योल तथा संक्रमणलाई देखाएर नयाँ लगानीकर्ताहरूको मनोबल गिराउने कोसिस पनि सफल भएको छैन।

यो बीचको करेक्शन स्वभाविक भएको विज्ञहरू बताउँछन्। नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य तथा महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेल केही दिनको करेक्शनले बजार झन् बलियो र परिपक्क भएको बताउँछन्।  उनी भन्छन्, बजार सधै बढिरहने होइन। बीचबीच करेक्शन हुनुपर्छ र हुन्छ। त्यसले बजारलाई बलियो र परिपक्क बनाउँछ।’ उनी बजार बुलिस ट्रेन्डमै लम्किएको बताउँदै भन्छन्, ‘पुँजी बजारमा लगानीका  लागि अहिले अनुकुल वातावरण छ। तरलता पर्याप्त छ। बजारको लक्ष्य माथि नै देखिन्छ।’

संसद पुनर्स्थापना हुँदैन भन्‍ने विश्‍वासमा रहेका एकथरी खेलाडीहरूले फैसाला आउनुअघिकै बुलमा नाफा बुक गरेर सेयर बचेका थिए र पुनर्स्थापनापछि तीनै खेलाडीहरू ब्याजदरलगायतका अन्य हल्ला फैलाएर बजार घटाउने प्रयास गरेका थिए। राम्रा कम्पनीहरूको मूल्य घटाएर सेयर बुक गर्ने केही खेलाडीको योजना र बजार घट्छ भनेर आत्तिएर सेयर बेच्‍ने मध्यमखाले लगानीकर्ताको भयका कारण यो बीचमा सेयर बजार अलि सुस्ताएको थियो।  तर वित्तिय प्रणालीमा पर्याप्त तरलता, अनुकुल ब्याजदर, सेयर कर्जाको सुलभता, ब्रोकर कमिशनको कटौती, र पुँजी बजारको प्रणालीमा भइरहेको निरन्तर सुधारले गर्दा सेयर बजारले ‘बुलिस रन’ मा अघि बढ्ने देखिन्छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments