काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता-कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो ।
यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो । भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।
यो समूहले बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको हो। सर्वोच्चको फैसलापछि केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको यो समूहको आरोप छ। अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्दै आएको यो समूहको कार्यकर्ता भेलाले उनलाई दबाब दिने बताइएको छ।
भेलाले के गर्ने छ ?
हामी राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधानसम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेका छौँ। यसका लागि भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिनेछ र टोली विभाजन गरी सबै सहभागीहरुले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिने विज्ञप्तिमा जनाइएको छ।
‘नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किनु भनेको नवौ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुन:स्थापना हो भन्ने कुरा स्पष्ट छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘यति हुँदाहुदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेका छन् । यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौँ र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पुर्याउन चाहन्छौँ ।’
को-को हुनेछन् सहभागी ?
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्पर्क कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।
यो समूहले भेलाको तयारीका लागि भन्दै सातै प्रदेशमा छुट्टै इन्चार्ज र केही विभागीय जिम्मेवारी तोकेको छ। प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी दिइएको छ। यस्तै युवामा रघुजी पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, बुद्धिजीवीमा प्रमेश हमाल, प्रचारमा योगेश भट्टराईलाई जिम्मेवारी तोकिएको छ।
गुटगत भेला नगर्न एमाले महासचिवको निर्देशन
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। बुधबार र बिहीबार माधव समूहले राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीले कुनै भेला आयोजना नगरेको बताएका हुन्।
‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाममा यही २०७७ चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, पोखरेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)का तर्फबाट त्यस्तै कुनै पनि भेला आयोजना गरिएको छैन।’ उनले भेलामा उपस्थित भए पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख गरेका छन्।
यसैबीच माधव समूहका एमाले प्रचार विभाग प्रमुख भट्टराईले बुधबार बिहान छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्न आग्रह गरेका छन्। उनले बिहान फेसबुक स्टाटसमार्फत भनेका छन्, ‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला। नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ।’


नेपालमाला
