– मोहन कार्की/काठमाडौं
झण्डै लोप हुनलागेको जिरेल समुदायको धार्मिक तथा सांस्कृतिक ‘चेन पूजा’ ४० वर्षपछि यो वर्ष सम्पन्न भएको छ । ऐतिहासिक संस्कृति झल्काउने जिरेल समुदायको यो पूजा फागुन पूर्णिमाका दिन पर्ने गर्दछ ।
विगतमा निरन्तर रुपमा मनाउँदै आए पनि उक्त पूजा विभिन्न कारणबस हुन सकेको थिएन । जिरेल समुदायका अगुवाहरुले जिरेल जातिको धर्म संस्कृतिलाई लोप हुन नदिन यो वर्ष ‘चेन पूजा’ आयोजना गरेका हुन् । अब आगामी वर्षदेखि यो पूजालाई निरन्तरता दिइने पूजा आयोजक समितिका अमृतबहादुर जिरेलले जानकारी दिए ।
‘चेन पुजा’का दिन जिरेल समुदायमा टाढा टाढाबाट इष्टमित्र भेला भई भेटघाट गर्ने, शुभकामना आदान प्रदान गर्ने गरिन्छ । आफ्नो सांस्कृतिक भेषभुषामा मानिसहरु नाचगान गर्ने, रमाइलो गर्ने र वर्ष दिनको दुख पिडा बिर्सेने गर्दछन् । किराँत धर्म मान्ने भएपनि जिरी आसपासका जिरेलहरुले बुद्धिस्ठ धर्म पनि मान्ने गर्दछन् । जिरेल जातिभित्रको एक शाखाको रुपमा जिरेल जातिलाई मानिन्छ ।
आफ्नै भाषा, रीतिरिवाज, संस्कृति रहेको जिरेल जातिको उद्गमस्थल दोलखाको जिरीलाई मानिन्छ । जिरेल सुमदायमा आगो, वायु, पृथ्वी जस्ता प्रकृतिहरुको पुजा गर्ने परम्परा पनि चल्दै आएको छ । उद्गमस्थल दोलखा भएको जिरेल समुदाय अहिले सिन्धुली, बारा, पर्सा, चितवन जस्ता जिल्लामा फैलिइसकेका छन् । जिरेल समुदायको बोली चालीको भाषा जिरेल नै हो । त्यसैगरी जिरेल समुदायले कुल देवता ‘चेन पूजा’ नांगील्हा पूजा, भूमे पूजा, चेरम्जो पूजा, ह्यूलसा पूजा, छ्योमु पुज्ने, चारमाने पुज्ने गर्दै आएको छ ।

नेपालमाला
