एक करोड लगानीमा आईटीएफ तेक्वान्दो एकेडेमी

रामेछाप : रामेछापको खाडाँदेवी गाउँपालिकामा एक करोड ११ लाख रुपैयाँको लागतमा आईटीएफको राष्ट्रिय तेक्वान्दो एकेडेमी निर्माण भएको छ । खाँडादेवी गाउँपालिकास्थित गाल्पा बजारमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा एकेडेमी निर्माण भएको हो । एकेडेमीले दुई रोपनी क्षेत्रफल ओगटेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य एवं रामेछाप तेक्वान्दो संघका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए । चेन्जिङ हल, बाथ रुम, अफिस रूमलगायत सेवा सुविधासहितको एकेडेमी निर्माण भएको छ ।


तीन गाउँपालिका खाडाँदेवी, दोरम्बा र सुनापतिको संगमस्थल गाल्पा बजारमा एकेडेमी निर्माण गरिएको छ । तीनै गाउँपालिकाले प्रदेश सरकार र केन्द्र सरकारलाई गाल्पामा राष्ट्रिय एकेडेमी निर्माणका लागि संयुक्त प्रस्ताव पेश गरेका थिए । सोही अनुरूप तीनै तहका सरकारको प्रयासमा एकेडेमी निर्माण भएको रामेछाप आईटीएफ तेक्वान्दो संघका अध्यक्ष मोक्तानले जानकारी दिए ।
‘यो एकेडमीको निर्माण भएपछि स्थानीय तवरबाट प्रतिभावान खेलाडी उत्पादनमा ठूलो सघाउ पुग्ने विश्वास लिएका छौं । धुलोमा खेलिरहेका हाम्रा खेलाडीले अत्याधुनिक हलमा खेल्न पाउँदा उनीहरूको मनोबल पनि उच्च हुनुका साथै खेलस्तरमा पनि सुधार आउनेछ’, उनले भने ।
आईटीएफ तेक्वान्दो महासंघले पनि नवनिर्मित एकेडेमीलाई राष्ट्रिय एकेडेमीका रूपमा मान्यता दिएको छ । शनिबार एक कार्यक्रमबीच खाडाँदेवी गाउँपालिकाका प्रमुख प्रेमबहादुर तामाङ, दोरम्बा गाउँपालिकाका प्रमुख कमानसिंह मोक्तान र सुनापति गाउँपालिका प्रमुख धावा लामालगायतले उक्त एकेडेमीको उद्घाटन गरेका थिए । सो अवसरमा खाडाँदेवी गाउँपालिकाकी उपप्रमुख मखमली श्रेष्ठ, खाडाँदेवी गाउँपालिका वडा–७ का अध्यक्ष असलसिंह मोक्तान, एसियाली आईटीएफ तेक्वान्दो महासंघका कार्यकारी सदस्यसमेत रहेका नेपाल आईटीएफ महासंघका अध्यक्ष अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।
रामेछापमा करिब दुई सय खेलाडीले प्रत्यक्ष रूपमा एकेडेमीमा प्रशिक्षण गर्न पाउने छन् । उद्घाटन अवसरमा खाडाँदेवी गाउँपालिका प्रमुख प्रेमबहादुर तामाङले खेल क्षेत्र एकताको प्रतिकसमेत भएकाले तीन वटै गाउँपालिकाको संयुक्त प्रयासमा एकेडेमी निर्माण गरिएको बताए । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले तीन वटै गाउँपालिकाले खेलकुद केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले गाल्पामा तेक्वान्दो एकेडेमी निर्माण गरिएको बताए । सुनापति गाउँपालिका प्रमुख धावा लामाले खेलकुद क्षेत्र विकासका लागि आफ्नो गाउँपालिका सदैव तयार रहेको स्पष्ट पारे ।
दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका अञ्जन धमलाले स्थानीय सरकार र यहाँका जनप्रतिनिधिले आईटीएफ तेक्वान्दोको विकासका लागि गरेको योगदानप्रति धन्यवाद प्रकट गर्दै एकेडेमी निर्माणले प्रतिभावान खेलाडी उत्पादनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘खेलकुद एउटा कला मात्र होइन, मानिसको जीवन जिउने आधार पनि बन्न सके एकदिन पक्कै पनि विकासको उच्च विन्दुमा पुग्नेछ । यसका लागि स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक छ’, धमलाले भने, ‘एकेडेमीको स्थापनाले राष्ट्रियस्तरका सेमिनार र प्रतियोगिता आयोजनाबाट यहाँका धेरै खेलाडीले एक्सपोजरसमेत पाउनेछन् ।’


शनिबार नै एकेडमी निर्माणका क्रममा योगदान पु¥याउने खाडाँदेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, वडा–७ का अध्यक्ष असलसिंह मोक्तान, दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तान, सुनापति गाउँपालिका अध्यक्ष धावा लामा र महासंघका अध्यक्ष अन्जन धमलालगायतलाई सम्मान गरिएको थियो । नेपाल आईटीएफ तेक्वान्दो महासंघको तत्वावधनमा राष्ट्रिय रेफ्री सेमिनारसमेत आयोजना भएको थियो । सातै प्रदेश र दुई विभाग सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल आर्मीका गरी ८० जनाले रेफ्रीले प्रशिक्षण कोर्स पूरा गरेका थिए ।
महासंघका उपाध्यक्ष एवम् रेफ्री कमिटीका प्रमुख प्रवीणकुमार कार्कीले एक दिने कोर्स सञ्चालन गरेका थिए । एकेडेमी उद्घाटनको अवसरमा जिल्लास्तरको प्रतियोगितासमेत भएको थियो । चार विधाका प्याटर्न र फाइटतर्पm आठ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा महिलामा करिसा योञ्जन र पुरुषमा निर्मल लामा उत्कृष्ट खेलाडी चयन भए । गाल्पा तेक्वान्दो डोजाङ १३ स्वर्ण, १२ रजत र १० कांस्यसहित टिम च्याम्पियन हुँदा सुनापति तेक्वान्दो डोजाङ आठ स्वर्ण, ८ रजत र १० कांस्यसहित दोस्रो भयो ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments