म्यानमारमा नरसंहार बढ्दो : सेनाले सत्ता सम्हालेदेखि ५४ जना मारिए 

जेनेभा :  म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गर्नुभएको छ ।

म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।

संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गर्नुभएको हो ।

“म्यानमारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नु पर्छ,” उहाँले भन्नुभयो । “यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूबिरूद्ध सिधै गोली चलाइरहेको छन् । यो मानव अधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ ।

बचेलेटले थप्नुभयो, “घाइतेलाई उद्धार गर्न पुगेका आपतकालीन स्वास्थ्य कर्मचारी र एम्बुलेन्सबिरूद्ध पनि आक्रमण हुनु घोर आपत्तिजनक कार्य हो ।

संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तिमा ५४ व्यक्तिलाई ‘सुरक्षा कारबाही’ का क्रममा मारेको पुष्टि गरेको छ ।

वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुन सक्ने पनि उक्त कार्यालयले प्रमाणित बताएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् ।

सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु
म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो घटना हो ।

अनलाइनमा सार्वजनिक तस्वीरहरुमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएको र घाइते प्रदर्शनकारीका शरीर रगतपच्छे भएको देखिएको छ ।

बुधबारको हिंसापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले म्यान्मारको घटनाबाट अमेरिका स्तब्ध भएको प्रतिक्रिया दिनु भएको छ ।

उहाँले म्यान्मारको सैनिक दमनका विरुद्धमा विश्वका सबै मुलुकले निन्दा र भत्र्सना गर्नुपर्नेमा जोड दिनुभयो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले म्यान्मारमा जारी दमन तत्काल रोक्न आग्रह गर्नु भएको छ ।

सेनाले सत्ता लिएयता ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको म्यान्मारका लागि राष्ट्रसंघका प्रतिनिधि स्रानर बर्गेनरले बताउनु भएको छ ।

बिहीबार प्रदर्शनकारीहरुले याङ्गुन र मन्डाले शहरका साथसाथै अन्य शहर बजारमा जुलुस निकालेका छन् । सुरक्षाकर्मीले गत फेब्रुअरी १ यता हालसम्म झण्डै एक हजार ५०० प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ ।

सेनाले म्यान्मारकी नेतृ आङ सान सुकी समेत उहाँको दल नेसनल लिग फर डेमोक्रेसीका ठूलो संख्याका नेता एवं कार्यकर्ता नजरबन्दमा राखेको छ ।

 

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments