पुराना राजनीतिक अगुवाको नाम लिनुपर्दा धेरैको मनमस्तिकमा आउने नाम हो, मोहन चापागाईं । ७६औं वर्षमा हिंडिरहनु भएका चापागाईं उमेरले पनि खारिएका व्यक्ति हुनुहुन्छ । पूर्व राष्ट्रिय सभा सदस्यसमेत रहनु भएका चापागाईंले कम्युनिष्टबाट राजनीतिक सुरु गर्नुभयो । पुष्पलाल श्रेष्ठसँग नजिक रहेर काम गर्नुभएका चापागाईंले नेपाली कांग्रेसमा आवद्ध भएर पनि काम गर्नुभयो । गिरिजाप्रसाद कोइराला जतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो त्यसताक बालुवाटारमा चार दाह्री र चार साडीको चकचकी रहेको चर्चा हुने गर्दथ्यो । चार दाह्रीमध्येका एक हुनुहुन्छ– मोहन चापागाईं । ‘नेपालवाद’का प्रणेता चापागाईंले नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनमा लामो र स्मरणीय योगदान पु¥याउनुभएको छ । चापागाईंले लामो समय वामपन्थी आन्दोलनमा बिताउनुभएको हो, तर बीपी कोइरालालगायत काङ्गे्रसका नेताहरूसँग उहाँको बेग्लै सम्बन्ध छ । पछिल्लो समय स्वतन्त्र राजनीतिक जीवन बिताइरहनु भएका मोहन चापागाईसँग गरिएको कुराकानीको सम्पादित अंश :
अहिलेको राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ?
नेपालमा सिद्धान्त र विचारका आधारमा राजनीति विकसित भएन । पञ्चायती व्यवस्थाको विरुद्ध म पनि लागेको थिएँ । पुष्पलाल श्रेष्ठको नेतृत्वलाई मैले स्वीकार गरेको थिएँ । उहाँले पञ्चालयत फाल्नका निम्ति पञ्चायत इतर शक्ति मिल्नु पर्छ भनेर हिंड्नु भयो । त्यही कारण विभिन्न समूहका कम्युनिष्टले उहाँलाई गद्दार भने । अहिले उहाँकै फोटो टाँसेर हिंड्छन् उनीहरुको के कुरा गर्नु ।
यसैगरी अर्को कांग्रेस पार्टी, जसले विश्वेश्वर कोइरालाको फोटो राखेको छ, त्यो पार्टीमा कांग्रेस कोही पनि छैन । कांग्रेसी मात्रै छन् । किनभने गुट चलाउने, जागिर खोज्ने, पद खोज्ने मात्रै छन् । राप्रपा भनाउँदाहरुले पञ्चायती व्यवस्थाका जागिरे हुन् । उनीहरुसँग आफ्नो सिद्धान्त, नीति केही पनि छैन । उदाहरणका लागि उनीहरुले हिन्दुका नाममा भोट मागे । समानुपातिकबाट संसद पुगे र मन्त्री पनि बने । मन्त्री हुनका लागि संविधानको सपथ खानु पर्छ । संविधानको सपथ खाएपछि नेपालमा हिन्दु राज्य चाहिन्छ । राजा चाहिन्छ भनेर भन्ने कुरै भएन ।
अर्को महत्वपूर्ण कुरा विदेशीको इशारामा के झर्ला र खाउँला भन्ने पार्टीहरु भए । नेताहरु भए । त्यसकै परिणाम अहिलेको विकृति आएको हो । यसको अन्त्य तत्काल हुँदैन । जबसम्म विचार र सिद्धान्तका आधारमा राजनीतिलाई गोरेटोमा लगिँदैन, तबसम्म यस्ता विकृति आइरहन्छ ।
नेकपाभित्रको विवादलाई चाहिँ कसरी हेर्नुभएको छ त ?
प्रचण्ड र खड्ग ओली पहिले किन मिले, अहिले किन फुटे र शक्ति प्रदर्शन भनेर गाउँ–गाउँबाट ल्याइरहेका छन् ? त्यस विषयमा प्रदर्शनमा आउने जनतालाई केही मतलव छैन । गमन, अग्रगमन, प्रतिगमन भन्ने कुरा उनीहरुले बुझ्दैनन् । आम जनताले खोज्ने भनेको आफ्नो दैनिकी सहज होस् भन्ने हो । शाही कालमा राजा ज्ञानेन्द्र पनि भीड देखाएर देशभरि घुमेका थिए । शक्ति प्रदर्शन गरेका थिए । तैपनि उनले शासनसत्ता त्याग्नु प¥यो । अहिले पनि प्रचण्ड र खड्ग ओलीले त्यही काम गरिरहेका छन् ।
त्यसैले नेपाली जनतालाई चित्तबुझ्ने काम गरौं । जनताले जुन आशा र भरोसा दलहरुप्रति देखाएका थिए, त्यसलाई निरास नबनाउन् भन्ने आग्रह गर्दछु । तर, विडम्बना हामी स्वतन्त्र रहन सकेनौं । स्वतन्त्र रुपमा परिचालित हुन सकेनौं । बाहिरी शक्तिले हामीलाई चलाउने गरेको छ । जसले गर्दा जनताले कहिले पनि सुख पाउन सकेनन् । कोही मिल्ने छुट्नेको असर जनतालाई पर्नु भएन ।
तपाईले भनेजस्तै राजा ज्ञानेन्द्रको जस्तै अब केपी ओलीको सत्ता पनि टिक्दैन त ?
खड्ग ओलीको सत्ता केही समयका लागि मात्र हो । कुनै समय पुष्पलाल श्रेष्ठ एक्लो थिए । सबै भीड पुष्पलाल विरोधी अखिलमा थियो । तर, त्यो क्षणिकता मात्रै भयो । पहिले पुष्पलाललाई विरोध गर्नेहरु अहिले उनको फोटो झुन्ड्याइरहेका छन् ।
अब देशको राजनीति चाहिँ कता जान्छ त ?
संसारमा हामीभन्दा दुःख पाएका धेरै देश छन् । जबसम्म नयाँ विचार, नयाँ सोच, नयाँ सिद्धान्त र नयाँ कार्यक्रम आउँदैन, यो देशको राजनीति कता जान्छ भनेर भन्न सक्ने अवस्था छैन । माओसेतुङलाई स्टालिनले दास बनाउन खोजेका थिए । उनी त्यहाँबाट भागेर चीन आएपछि उनले कम्युनिष्ट भनेनन्, नयाँ जनवाद भनेका छन् । मदन भण्डारीले बहुदलीय जनवादको सिद्धान्त ल्याए । त्यही सिद्धान्तका बलमा अहिले कम्युनिष्टहरु सत्तामा पुगिरहेका छन् । महेन्द्र राजाले २०१७ सालमा सत्ता हातमा लिए र २०१९ सालमा मात्रै संविधान दिए । उनले वर्ग समन्वय भनेर पञ्चायती कार्यक्रम ल्याए । तर, अहिलेका पार्टी र नेताहरुको कार्यक्रम खोइ ? गन्तव्य के हो ? भन्ने नै छैन । अनि यस्तो अवस्थामा देशको राजनीति कता जाँदैछ भनेर भन्नु ! नेपालमा संविधान भनेको शंकाशंकैको पुलिन्दा बनेको छ । त्यसैले शंकाले संसार चल्दैन ।
यसको निकास के त ? संधै प्रयोग स्थल मात्रै भइरहने हो त ?
यसको एउटै निकास भनेको पृथ्वीनारायण शाहको परम्परालाई खुला रुपमा मानेर आउनु पर्छ । त्यो परम्परासँग मिलेर र कम्युनिष्ट विचारधारालाई त्यागेर काम गर्न सक्यौं भने मात्र देशले निकास पाउन सक्छ ।
० अहिले बहसमा रहेको विषय भनेको संसद विघटन पनि हो । यसलाई चाहिँ तपाईले कसरी हेर्नु भएको छ ?
न्यायको सिद्धान्तको विरुद्धमा अहिले अदालत चलिरहेको छ । जब कुनै पनि मुद्दा लम्बिन्छ, तब न्याय पाइँदैन भनिन्छ । अहिले पनि त्यही भइरहेको छ । जसरी हुन्छ लम्ब्याउने काम मात्रै भइरहेको छ । यसले न्याय कसैले पनि पाउँदैन । अर्को कुरा हामीले संसदीय व्यवस्था मान्ने हो भने संसद विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीलाई छ । आलोपालो र भागबण्डाको राजनीति गर्ने हो भने मेरो भन्नु केही छैन ।
तपाईको विमती भनेको अहिलेको संघीयता पनि हो ?
पृथ्वीनारायण शाहले नेपालको सामाजिक संरचना निर्माण गरेका हुन् । त्यसलाई खल्बल्याएर यो देश अघि बढ्न सक्तैन । हाम्रो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र हो । तर, भारतका प्रधानमन्त्री सिधै जनकपुर आउँछन् । उनी सबैभन्दा पहिले काठमाडौं आउनुपथ्र्यो । अनि मात्रै जनकपुर जानु पथ्र्यो । २ नम्बर प्रदेशका मुख्यमन्त्रीले मलाई केन्द्रले पेल्यो भन्छन् । यो सुन्दा हाँस्यास्पद लाग्दैन र ?
अहिलेको समस्याको मुल कारक संविधान पनि हो ?
अवश्य पनि हो । यो शंकै शंकामा बनाएको दस्तावेज हो । दुई वर्षसम्म अविश्वास प्रस्ताव नै ल्याउन पाइने भन्ने छ रे ! यस्तो पनि हुन्छ । निर्वाचित भएपछि दुई वर्षसम्म उसले जे गरे पनि हुन्छ भन्ने पनि काहीँ हुन्छ ?
तपाई अहिलेको संविधान मान्नुहुन्छ कि मान्नुहुन्न ?
अहिलेको संविधान मान्नु भनेको संघीय प्रणाली मान्नु हो । त्यसैले म मेरो जीवनको शुरुवाती दिनदेखि नै नेपाल जस्तो सानो सुन्दर देशालाई चिराचिरा पार्न जरुरी छैन, नेपाललाई फुटाएर संघीय बनाउन जरुरी छैन, नेपालमा संघीय प्रणाली फिट हुँदैन भन्ने गर्थे । मैले भनेअनुसार नै अहिले संघीय प्रणाली फेलिएर हुँदै गईरहेको छ । त्यसैले म अहिलेको संविधान मान्न सक्दिन । मैले त नेपालमा राजसंस्था भनेको एउटा प्रणाली मात्र हो यसलाई नमासौ भनेको थिए । नेपाल हिन्दुहरुको बाहुल्य देश हो त्यसैले हिन्दुराज्य नमासौ भनेको थिए । देशलाई टुक्राटुक्रा नपारौं भनेको थिए तर, केही पनि भएन । त्यसैले म यो संविधान के आधारले मानौं जबकि सम्पूर्ण नेपालीहरुले हिन्दुराज्य चाहिन्छ भन्दाभन्दै धर्मनिरपेक्ष राज्य बनाए । यी खौवाहरुले त देशको धर्म संस्कृति नै बेचेर खाए । आफ्नो धर्म त बेचेर खाए खाए अन्तमा कृश्चियन पादरीले खुवाएको होली वाइन खाए । त्यसैले यो संविधान मान्ने आधार नै छैन ।
तपाई पहिला पन्चायत विरोधी हुनुभयो, कहिले कम्युनिष्ट बनेर पुष्पलालहरुसँग मिल्नुभयो, पछि फेरी काँग्रेस भएर गिरिजाबाबुसँग मिल्नुभयो, काँग्रेसबाट फेरी राजावादी हुनुभयो । अहिले चाहिं तपाई कुन पार्टीमा आवद्ध हुनुहुन्छ ?
म अहिले कुनै पार्टीमा छैन । म स्वतन्त्र छु । म पहिला पनि माक्र्सवादको सिद्धान्त पूर्णरुपमा ठीक छैन, त्यो केवल गाइडलाइन्स हुनसक्छ तर, सबै कुरा माक्र्सले भनेजस्तो हुँदैन भनेर खण्डन गर्ने विचारधाराअनुसार नै पुष्पलालहरुसँग सहकार्य गरेको थिए । गिरिजाले कम्युनिष्टहरुलाइ माले, मन्डले र मसाले भनेर अछुत मान्नुहुन्थ्यो । त्यसैले मेरो माक्सवार्दको खण्डन गर्ने विचारधारा उहाँसँग मिल्न थालेपछि उहाँसँग सहकार्य गरेको थिए । जसरी विशेश्वरले आफ्नो जीवनकालमा कहिल्यै कम्युनिष्टसँग सहकार्य गरेनन त्यसैको अडिग विचारधाराबाट प्रभावित भएर म गिरिजाबाबुसँग सहकार्यमा थिए । तर, गिरिजाबाबु माओवादीसँग मिल्न दिल्ली पुगे । त्यसैले त्यहाँ पनि मेरो विचारधारा मिलेन । अहिले त नेपालमा काँग्रेस छैनन बरु जागिरे काँग्रेसीहरु मात्र छन् ।
तपाईले राजा वीरेन्द्रको आर्शीवाद पाएपछि राजावादी हुनुभयो भन्ने आरोप छ नि ?
मैले पहिल्यै भनिसके मलाई कुनै बाद वा बादी मन पर्दैन त्यसैले म राजावादी हो भनेर कसैले भन्छन भने भनिरहुन । मलाई कसैको आरोपले प्रभाव पार्दैन । यद्यपि, मैले नेपालको सामाजिक व्यवस्थाको हिसावले राजतन्त्र नमासौं भनेर भनेको थिए । मेरो जीवनकालमा राजा वीरेन्द्रसँग जम्मा एकपटक भेट भएको छ । उहाँ राम्रो हुनुहुन्थ्यो, म राजाहरुको आलोचना गर्थे र फेरि पनि राजा बीरेन्द्रले मलाई मन पराउनुहुन्थ्यो रे । राजा बीरेन्द्रको अन्त्यपछि ज्ञानेन्द्रसँग मेरो विचार मिलेन । अहिले अरुले ‘राजा आउ देश बचाउ’ भनिरहेका छन तर, ‘जनता आउ देश बचाउ’ भनेर बोल्ने मान्छे म एक्लो छु । तर, राजाहरुले एकीकरण गरेर बनाएको देश नेपालमा राजव्यवस्था चै नमासम तर, अरु कार्यप्रणलीहरुमा सुधार गरम भन्ने मेरो राय थियो र अझै पनि छ । साथै, शुरु देखिनै मेरो विचारधारा नेपालमा संघीय प्रणाली फिट हुँदैन भन्ने थियो । अहिले नेपालमा एउटा पनि पार्टी छैन सिर्फ राजनीतिको नाममा व्यापारीहरु मात्र छन्, दलालीहरु मात्र छन्, घुसखोरीहरु मात्र छन् ।
तपाईले जो–जोसँग जुन–जुन पार्टीमा सहकार्य गर्नुभयो तिनीहरुले तपाईलाई प्रयोग गरेको मात्र देखियो रु के भन्नुहुन्छ ?
होईन होइन । म यस्तो स्वतन्त्र मान्छेलाई कसैले प्रयोग गर्नै सक्दैनन् । मलाई प्रयोग गर्न प्रयास गरेका थिए सकेनन् । बरु मेरो आफ्नो विचारधारालाई प्रवाह गर्न मैले चाहि उनीहरुलाई थोरबहुत प्रयोग गरे हुँला । अनि यिनिहरुले मलाई राजावादी भन्न मिल्छ रु बरु मदन भण्डारी राजावादी थिए, उनले भनेका थिए–‘श्रीपेच खोलेर आए म राजालाई चुनावमा हराउँछ’ु भनेर । उनी त्यत्रो राजनीतिज्ञलाई पनि कस्तो थाहा नभएको कि राजा भनेको व्यक्ति हैन व्यवस्था हो ।