काठमाडौं : चाडपर्व बिदामा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टिहरु बढ्न थालेको छ । सरकारले कहिले बिदा खारेज गरिदिने, कहिले सार्वजनिक बिदा दिने गरेपछि असन्तुष्टि बढ्न थालेको हो ।
आदिवासी जनजाति महासंघले विज्ञप्ति नै जारी गरी चाडपर्व बिदाको विषयमा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले सोनाम ल्होसारको अवसरमा जारी गरेको शुभकामना सन्देशमा जनजातिका मुख्य पर्वमा सरकारले मनलाग्दी गरेको भन्दै आपत्ति जनाएका छन् ।
‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले मन लाग्दा राष्ट्रिय बिदा दिने र मन नलाग्दा खारेज गर्ने कार्यको हामी निरन्तर खबरदारी गर्दछौं,’ बरामद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
सरकारले यो वर्ष सोनाम ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । अघिल्लो वर्ष भने सरकारले बिदा दिएको थिएन ।
जनजातिले मनाउने मुख्य पर्वमा बिदा कटौती भएपछि त्यसबेलादेखि नै विभिन्न जातीय संगठन र आदिवासी जनजाति महासंघले सरकारको विरोध गर्दै आएका थिए । उनीहरुले कुनै जाति र समुदायलाई रिझाउन कहिले बिदा दिने कहिले नदिने काम बन्द गर्न सरकारलाई खबरदारी गरेका थिए ।
यसैगरी शेर्पा समुदायले पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरेको छ । नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामाले विज्ञप्ति जारी गर्दै सरकारको रवैयाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
अध्यक्ष शेर्पाले सरकारले हिमाली आदिवासी शेर्पाहरुको मूख्य पर्वको तिथि बिगारेर अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् । शेर्पा समुदायको मुख्य पर्व ग्याल्बो ल्होसार माघ ३० गतेकै दिन पर्ने भए पनि सरकारले चैत १ गते राखेको भन्दै उनले आपत्ति जनाएका हुन् ।
राष्ट्रपति, प्रधानमन्त्री लगायतले आजै परेको तामाङ समुदायको सोनाम ल्होसार पर्वमा शुभकामना सन्देश जारी गरे पनि ग्याल्बोको भने शुभकामना दिएका छैनन् ।


नेपालमाला
