काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।
नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म काठमाडौंैंको स्युचाटारमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने मूल आयोजक समितिका संयोजक एवं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता सञ्चालन गर्न नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने नगरप्रमुख बस्नेतले जानकारी दिए । उनले प्रतियोगिताको उत्कृष्ट महिला बक्सरलाई व्यक्तिगत खर्चमा एक थान स्कुटर प्रदान गरिने घोषणा पनि गरे । उत्कृष्ट पुरुष खेलाडीले भने मोटरसाइकल पाउनेछन् ।
प्रतियोगिता सफल बनाउन नगरप्रमुख बस्नेतको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका दौरान १३औं दक्षिण एसियाली खेलकुदमा बक्सिङका पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने नगरप्रमुख बस्नेतले जानकारी दिए ।

नेपालमाला
