काठमाडौं : तेक्वान्दोका विभिन्न प्रशिक्षकहरुले चितवनका खेलाडीहरुका लागि खेल सामग्री सहयोग गरेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव एवं युनाइटेड तेक्वान्दो डोजाङका प्रशिक्षक कुमार लामा घिसिङ, काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका कोषाध्यक्ष एवं सीतापाइला तेक्वान्दो डोजाङका प्रशिक्षक बब्लु शिवाकोटी, राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक अर्जुनभक्त राई, पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा र प्रशिक्षक गोपाल भण्डारीले सोमबार बिहान चितवनमै पुगेर खेलाडीलाई खेल सामग्री सहयोग गरेका हुन् ।

उनीहरुले चितवन जिल्ला तेक्वान्दो कभर्डहलमा पुगेर खेलाडीलाई १० सेट किक प्याड सहयोग गरेका थिए । कार्यक्रममा सीतापाइला तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक बब्लु शिवाकोटीले दुई खेलाडीका लागि खेल पोसाकलगायत आवश्यक सम्पूर्ण सामग्री व्यक्तिगत रुपमा सहयोग गरेका थिए ।
विभिन्न प्रतियोगिताका साथै प्रशिक्षणमा पनि खेलाडीलाई समस्या नहोस् भनेर आफूहरुले सानो सहयोग गरेको प्रशिक्षक शिवाकोटीले जानकारी दिए । ‘कुनै एउटा सामग्री भएन भने पनि खेलाडीको प्रशिक्षण र प्रदर्शनमा समस्या पर्न सक्छ’, उनले भने, ‘खेलाडीलाई प्रशिक्षण गर्न र प्रतियोगितामा सहभागी हुन सहज बनाउनुका साथै उनीहरुको हौसला बढाउन केही सामग्री सहयोग गरेका हौं ।’
चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठले सहयोगका लागि प्रशिक्षकहरुलाई विशेष धन्यवाद दिए ।


नेपालमाला
