काठमाडौं : प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको विघटन आफ्नो रहर नभएर बाध्यता भएको बताएका छन्। सिंहदरबारमा आफू निकट सांसदहरूसँग छलफलमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि आफू वाध्य भएर जनता जाने कदम चालेको बताएका छन्। उनले भने, यो मेरो रहर होइन, बाध्यता हो।
ओलीले संसद् विघटन भएर चुनाव घोषणा भइसकेकोले यसमा अब विवाद गर्नुभन्दा सबै दल चुनावमा जुट्नु उपयुक्त हुने बताए। बहुमत प्राप्त प्रधानमन्त्रीले गरेको राजनीतिक निर्णय भएकोले यसलाई चुनौती दिने हक कसैलाई नभएको उनले बताए। उनले मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको अनुमोदनमा चालिएको राजनीतिक कदममा अदालतले पनि केही गर्न नमिल्ने बताए।
ओलीले जनताले दिएको विश्वास पूरा गर्न अवरोध गरेपछि जनतासमक्ष नै प्रस्तुत गर्न ताजा जनादेशको निर्णयमा पुग्नु परेको बताएका छन्। विघटित प्रतिनिधिसभाका सदस्यहरुको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्णय लिने कदमलाई निरंकुश भनी कृत्रिम न्यारेटिभ खडा गर्ने प्रयास भएको धारणा राखे।
मुलुकको उन्नतिका लागि गरेका हरेक काममा अवरोधका कारण पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको उनले सुनाए।
पार्टीका एकथरी नेताले पार्टीलाई जनताले सुम्पेको जनादेश बिर्सेर सधैं सरकारका काममा अवरोध मात्रै गरेको जानकारी गराए। उनले विचार, संगठन र गन्तव्यमा स्पष्ट विशाल पार्टी बनाउने उद्देश्य सफल पार्न आफू सक्रिय रहेको तर अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल लगायतका नेताहरु सरकारका मुलुकको काममा अवरोध गरी विग्रहतिरको बाटोमा अग्रसर भएको बताए।

नेपालमाला
