काठमाडौं : प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितिमै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सम्पन्न भएको छ। आइतबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएका हुन्।
बैठकको सुरुमै सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले पठाएको पत्र पढेर सुनाएका थिए। उक्त पत्रमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते बैठकमा पेश गरेको राजीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा उपस्थित नहुने ‘बटमलाइन’ उल्लेख गरेका छन्।
‘आजको बैठकमा अर्का अध्यक्ष कमरेड केपी ओली उपस्थित हुनु भएन। उहाँको अनुपस्थितिको कारण देखाउँदै बैठकलाई सम्बोधन गरेर एउटा पत्र पठाउनु भएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकको प्रारम्भमै सचिवालय सदस्य कमरेड ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर स्थायी कमिटी बैठकलाई जानकारी गराउनुभयो। कमरेड ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसकारण बैठकमा नआएको उल्लेख गर्नु भएको छ।’
ओलीको अनुपस्थितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले स्थायी कमिटीको अर्को बैठक मंसिर २८ गते बस्ने र केन्द्रीय समितिको बैठक पुस ५ गतेसम्म सार्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले दिए। बैठकलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले सात दिनमा औपचारिक र अनौपचारिक छलफल गरेर पार्टी एकतालाई जोगाउनुपर्नेमा जोड दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ।बैठकमा सबै स्थायी कमिटी सदस्यलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन र पत्र अध्ययनका लागि वितरण गरिएको छ।
ओलीले स्थायी कमिटीमा पठाएको पत्र सार्वजनिक भएको छ । ओलीको पत्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा कात्तिक २८ गते पेश गरेको प्रस्ताव फिर्ता नभए बैठकमा सहभागी नहुने कुरालाई महत्वका साथ उल्लेख गरेका छन् ।



नेपालमाला
