काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १० गतेबाट सुरु गर्न लागेको बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाएको छ । जगत टमाटाको प्रशिक्षणमा सञ्चालन हुने बन्द प्रशिक्षण पछिल्लो पटकको सम्झौतामा रहेका सबै खेलाडीलाई बोलाएको छ ।
नेपाल सरकारले खेलकुदलाई सुचारु गर्न अनुमति दिएसँगै क्यानले मंसिर १० गतेबाट प्रशिक्षण सुरु गर्न लागेको हो । क्यानले मंसिर ८ गते सबै खेलाडी र प्रशिक्षकको पीसीआर परीक्षण गर्ने र नेगेटिभ आउनेलाई मात्र प्रशिक्षणमा सहभागी गराइने जनाएको छ ।
कोरोना भाइरसको महामारीका कारण करिव नौ महिनापछि नेपाली क्रिकेट टोलीको प्रशिक्षण हुन लागेको हो । केही महिना अघि लकडाउन खुकुलो भएका बेला केही खेलाडीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण गर्दै आएका थिए ।
क्यानले बन्द प्रशिक्षणका लागि बोलाएका २२ खेलाडीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, सोमपाल कामी, सुशन भारी, ललितनारायण राजवंशी, विनोद भण्डारी, आरिफ शेख, पवन सर्राफ, अभिनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन् ।
क्यानले सन् २०२१ मा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको जनाएको छ । स्वास्थ्य सम्बन्धी सबै मापदण्ड अनुसार सावधानी अपनाएर प्रशिक्षण गरिने क्यानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


नेपालमाला
