काठमाडौं : पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको हो ।
बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जित दिलाउन मोहमद नाविब जीवन र मबुबुर रहमानले एक÷एक गोल गरे ।
पहिलो हाफको १०औं मिनेटमा मोहमद नाविबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले साद उदीनको क्रसमा वान टचमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा अग्रता दोब्बर बनाएको थियो । ८०औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २–० को जित दिलाए ।
मैत्रीपूर्ण खेलका लागि घरेलु टोलीले तीन साताभन्दा बढी प्रशिक्षण गरेको थियो । नेपालले भने काठमाडौंमा करिब एक साता प्रशिक्षण गरेर बंगलादेश गएको थियो । दुई दिन होटलको क्वारेन्टाइनमा बसेको नेपालले केही दिन मैदानमा प्रशिक्षण गरेको थियो ।
मैत्रीपूर्ण खेलअन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसँग मंसिर २ गते खेल्नेछ ।
सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपछि नेपाल र बंगलादेश पहिलो पटक एक आपसमा भिडेका हुन् । त्यो बेला नेपालले बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो । कोरोना महामारीका कारण यस पटक धेरै खेलाडी परिवर्तन भएका कारण पनि घरेलु टोली नेपालमाथि हावी देखिएको हो ।
नेपालका लागि तीन खेलाडीले शुक्रबार डेब्यु गरेका थिए । युवा डिफेन्डर विकास खवासले पहिलो रोजाइमै डेब्यु गरे भने मिडफिल्डर एरिक विष्ट र दर्शन गुरुङले बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । एरिक ४२औं मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै दर्शन ६८औं मिनेटमा रवि पासवानको स्थानमा मैदान प्रवेश गरेका थिए ।
Previous Article
‘मङ्सिरमा भाइटीका लागाउनुहुन्न भन्ने शास्त्रीय आधार छैन’
Next Article

नेपालमाला
