नेकपाभित्र प्रचण्डको हारगुहार : सचिवालयको बहुमत, बालुवाटार पुगेर लम्पसार !!

मदन बस्नेत

पार्टीभित्र उत्पन्न विवाद सुल्झाउन कुनै निर्णायक निर्णय गर्न त परे जाओस् सचिवालयको एउटा औपचारिक बैठकसम्म पनि डाक्न नसक्ने अध्यक्ष प्रचण्डको निरीहताले उनले पाएको भनिएको नेकपाको कार्यकारी अध्यक्षको पगरी अन्ततः लाटाको लङ्गौटी साबित भएको छ ।
तात्कालिक एमालेभित्रको गुटगत राजनीतिभित्र खेलेर नेकपाको पार्टी सञ्चालनमा एकलौटी र सत्तामा हिस्सेदारी खोजेर केपी ओलीसँग बहुमतको डरबलका आधारमा बार्गेनिङ गर्न थालेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले चुनौतीपूर्ण भाषामा आफ्नो बाटो लाग्न भनेपछि प्रचण्ड घरको न घाटको हुने स्थिति पैदा भएको हो ।
पछिल्ला केही दिन यताका घटनाक्रमलाई सुक्ष्म रुपमा केलाउने हो भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली नै पार्टीका एकमात्र निर्णायक र सर्वेसर्वा नेता हुन् र उनकै निगाहमा बस्दा मात्र प्रचण्डको अस्तित्व जोगिने अन्यथा बिल्लीबाठ हुने स्थिति देखा परेको छ ।
पार्टीको केन्द्रीय सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी सबैतिर सुविधाजनक बहुमतका बाबजुद प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी ओलीको एउटा रौं पनि हल्लाउन नसकेपछि अध्यक्ष प्रचण्ड नेकपाको कस्तो हैसियतको कार्यकारी हुन् त्यो सबै सामु छर्लङ्ग भएको छ । कार्यकारी अध्यक्ष भनिएका पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी बहुमत सचिवालय सदस्यहरु बैठक डाकिदिनुप¥यो भन्दै प्रधानमन्त्री ओली सामु लम्पसार परेको पछिल्लो घटनाक्रमले नेकपामा कार्यकारी अध्यक्ष वास्तवमा को रहेछ ? त्यो प्रष्ट भएको छ । प्रचण्ड नेकपाका खोपाभित्रका देवता मात्र हुन् र उनको कार्यकारी हैसियत सेरोमोनियल मात्रै हो भन्ने पनि प्रमाणित गरिदिएको छ ।
प्रचण्डको विगतलाई कोट्याउने हो भने कथित जनयुद्धकालदेखि एमालेसँगको एकीकरणपूर्वको अवस्थासम्ममा प्रचण्ड नेपाली राजनीतिको एउटा शक्ति केन्द्रका रुपमा निर्णायक र अपरिहार्य शक्तिका रुपमा स्थापित थिए । उनले लिने हरेक निर्णय र अडानले नेपालको राजनीतिमा ठूलै अर्थ र महत्व राख्थ्यो । नेपालको समग्र राजनीति उनले उठाएका एजेन्डाको वरिपरि घुम्थ्यो । तर, जब उनले आफूसहित माओवादी पार्टीलाई एमालेमा बिलय गराए, त्यसपछिको तीन वर्ष यताको यो छोटो अवधिमा उनको अस्तित्व संकटमा मात्र परेको छैन, हिजोको त्यो निर्णायक हैसियतका प्रचण्ड यतिबेला अत्यन्तै निरीह, लाचार र अपहेलित अवस्थाबाट गुज्रिनु परेको छ ।
हिजो सिंह जस्तै गर्जने प्रचण्ड यतिबेला भिजेको बिरालो जस्तो लाचार र विवश देखिएका छन् । पूर्व एमाले नेताहरुको खटनपटनमा अपहेलना र तिरस्कार खेपेरै नेकपाभित्र बस्नु सिवाय आफ्नो अपमानको बदला लिन सक्ने हुति अब उनमा छैन । नेकपा फुटाएर नयाँ पार्टी गठन गर्ने र चुनाव जितेर सत्ता र शक्तिमा आउने आत्मविश्वास पनि उनमा अब बाँकी छैन । माओवादी खेमाभित्रैका पुराना नेताहरूले समेत उनलाई साथ दिन छाडिसकेको अवस्थामा उनी एक्लैको जोडबलमा पार्टी फुटाउन आवश्यक पर्ने ४० प्रतिशत संख्या पनि पुग्दैन ।
पूर्व एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई उस्काएर उनीहरुको पछि लागेर पार्टी फुटाउने हो भने पनि त्यसपछिको स्थिति भनेको त्यहाँ पनि फेरि अल्पमतमा नै पर्ने हो र माधव नेपालको खटनपटनमा नै बस्नु पर्ने परिस्थिति छ । त्यसमाथि पार्टी कुनै हालतमा नफुटाउने माधव नेपालको पछिल्लो अभिव्यक्तिले प्रचण्डको भविष्य झनै अन्योलग्रस्त र संकटपूर्ण बनेको छ । निरन्तरको अवहेलना र अपहेलना सहेर नेकपाभित्रै बसिरहँदा पनि उनको राजनीतिक भविष्य डामाडोल नै देखिन्छ ।
प्रचण्डले पार्टीभित्र बेला कुबेला मच्याइरहने बितन्डाले पूर्व एमालेपंक्ति यति बिच्किएको छ कि उनीहरु अब प्रचण्डलाई भविष्यमा पार्टी अध्यक्ष त के पार्टी नेताका रुपमा पनि स्विकार्नै नसक्ने स्थितिमा पुगेका छन् र आगामी महाधिवेशनसम्म पार्टी एउटै रहिरहे त्यहिँबाट प्रचण्डलाई पाखा लगाइदिने चेतावनी दिइरहेका छन् । त्यसैले प्रचण्डको अहिलेको स्थिति तावाबाट उछिट्टिएको माछा भुङ्ग्रामा भने जस्तै कि, केपी ओलीको पेलाईमा कि त माधवकुमार नेपालको निगाहमा बस्नु सिवाय अरु विकल्प छैन ।
दुस्साहस गरेर पार्टी फुटाई हाल्ने हो भने पनि उनको अबको हैसियत भनेको चित्रबहादुर केसी र मोहनविक्रम सिंहको जस्तो ‘साइनबोर्ड पार्टी’ मा सीमित हुनु पर्ने छ । किनभने जनसरोकारको मुद्दा छोडेर दिनरात सत्ता स्वार्थमा लागेको, आफ्ना गुट र आसेपासेलाई सत्ता र शक्तिमा पु¥याउन प्रधानमन्त्री ओलीसँग दिनरात किचकिच गरेको, सत्तामा भागबन्डा मात्रै खोजेर पार्टीभित्र गुटबन्दी गरेको र प्रष्ट बहुमतको सरकारलाई काम गर्न नदिएको र छँदाखाँदाको बहुमतको सरकार गिराएको कलंक पार्टी फुटाएसँगै प्रचण्डको थाप्लामा लाग्ने छ । जसलाई न त उनले पखाल्न सक्ने छन् न त नेपाली जनताले नै उनलाई माफी दिने छन् ।
पार्टी फुटाउँदा उनलाई माओवादीका पुराना नेता कार्यकर्ताले पनि साथ नदिने परिस्थितिमा पार्टी फोर्नु भनेको प्रचण्डका लागि आफ्नै खुट्टामा बन्चरो हान्नु सिवाय अर्थोक साबित हुन सक्दैन । नेकपाभित्रै बसिरहँदा पनि उनलाई अब कसैले पनि टेरपुच्छर लगाउने अवस्था छैन । केपी ओलीको निगाहमा पार्टी अध्यक्षको पगरी गुथ्न पाएका प्रचण्डको हैसियत आफ्नै बलबुतामा चुनाव लड्ने हो भने अब हुने महाधिवेशनमा केन्द्रीय सदस्य पनि जित्न नसक्ने स्थिति छ ।
उनले जति पल्ट सरकारको आलोचना गरे र प्रधानमन्त्री ओलीको कार्यशैलीको विरुद्धमा पार्टीभित्र गुटबन्दी गरे, ती सबै घटनाबाट ब्यक्तिगत लाभ मात्र हासिल गरे । देश, जनता र पार्टीलाई होइन, आफूलाई शक्तिशाली बनाउने ध्याउन्नमा लागे । सत्तामा भागबन्डा मात्रै खोजे । कुरा विधि, विधान र पद्धतिको गर्ने तर अन्तिममा ब्यक्तिगत लाभको लेनदेनमा टुङ्ग्याउने गरेर आफ्नो स्वार्थसिद्ध गर्नमै मात्र केन्द्रीत भए । उनका कुरा पत्याउने र साथ र समर्थन गर्ने अरु नेताहरुलाई थाङ्नामा सुताउने काम मात्र गरे । उनको त्यस्तो आत्मकेन्द्रित र चरम महत्वाकांक्षी प्रवृत्तिका कारण उनकै साथ र समर्थनमा रहेका पूर्व माओवादी नेताहरूले नै उनलाई छाडिसकेका छन् ।
पूर्व एमाले पक्षधर नेताहरु वामदेव गौतम, झलनाथ खनाल र माधव नेपालको प्रचण्डमाथिको अहिलेको समर्थन क्षणिक मात्र हो । स्वार्थ नमिल्ने बितिक्कै उनीहरुबीचको एकता तासको पत्ता जस्तै गल्र्यामगुर्लुम्म ढल्ने निश्चिति छ । त्यसैले प्रचण्डले नेकपाभित्र जुनसुकै पद र ओहदा पाए पनि कि प्रधानमन्त्री ओलीको, होइन भने वरिष्ठ नेता माधवकुमार नेपालको छत्रछायाँमा भूमिकाहीन र हैसियतविहीन बनेर एउटा हलि, गोठालो र अर्दलीकै रुपमा बस्नु सिवाय अर्को बिकल्प नभएपछि प्रचण्डको राजनीतिक यात्रा अब बिस्तारै अवसानतिर लागेको प्रष्ट देखिन्छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments