काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका पुरुष तथा महिला खेलाडीको वर्गीकरणमा परिमार्जन गरेको छ । यसअघि गरिएको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि क्यानले केही खेलाडीको वर्गीकरण परिमार्जन गरेको हो ।
खेलाडी वर्गीकरण छनोट समितिले तयार गरेको नयाँ वर्गीकरणलाई शनिबार बसेको क्यानको बोर्ड बैठकले सर्वसम्मत रूपमा पारित गरेको अध्यक्ष चतुरबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नयाँ वर्गीकरणअनुसार तीव्र गतिका बलर सोमपाल कामी ‘ए’ श्रेणीमा परेका छन् । यसअघि उनलाई ‘बी’मा राखिएको थियो । यस्तै ‘सी’मा रहेका अविनाश बोहरालाई ‘बी’ श्रेणीमा राखिएको छ । यसअघि वर्गीकरणमा नपरेका ललितनारायण राजवंशीलाई ‘बी’ र सन्दीप जोहरालाई ‘सी’ श्रेणीमा राखिएको छ ।
महिलातर्फ सरस्वती चौधरीलाई श्रेणी ‘बी’ तथा ममता चौधरी र सुमन खतिवडालाई ‘सी’ श्रेणीमा राखिएको छ । कोरोना भाइरस महामारीका कारण हाललाई सन् २०२० को जनवरीदेखि ६ महिनाका लागि मात्र खेलाडीसँग सम्झौता गरिएको क्यानले जनाएको छ ।
यसअघि गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण तयार गरेको थियो । नयाँ वर्गीकरणअनुसार पुरुषतर्फ २० र महिलातर्फ २२ खेलाडी सेन्ट्रल कन्ट्र्याक्टमा परेका छन् ।
पुरुषतर्फ ‘ए’ श्रेणीका खेलाडीले ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक ३० हजार पाउनेछन् । महिलातर्फ ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ले १२ र ‘सी’ श्रेणीका खेलाडीले मासिक १० हजार रुपैयाँ पाउनेछन् ।
शनिबार बसेको भर्चुअल बैठकले क्यानको वार्षिक साधारणसभा मंसिर ३ गते गर्ने निर्णय गरेको छ भने राष्ट्रिय टोलीको प्रशिक्षण मंसिर १० देखि सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बरमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।
Next Article

नेपालमाला
