काठमाडौं : यही कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा खेलाडीहरुले उत्साहजनक सहभागिता जनाएका छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा अहिलेसम्म १५ राष्ट्रका तीन सयभन्दा बढी खेलाडीले सहभागिता सुनिश्चित गरिसकेको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
नोभेम्बर ७ र ८ मा हुने च्याम्पियनसिपका लागि नोभेम्बर ४ सम्म रजिस्ट्रेसन र नोभेम्बर ६ भित्र भिडियो पठाइसक्नुपर्ने समयावघि तोकिएको छ । प्रतियोगिता संयोजक घिसिङका अनुसार प्राप्त भिडियोको नोभेम्बर ७ र ८ तारिखमा अन्तर्राष्ट्रिय रेफ्रीले मूल्यांकन गर्ने छन् भने नोभेम्बर ९ मा विजेता खेलाडीको नतिजा सार्वजनिक गरिने छ ।
युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको छ । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको छ ।
प्राप्त भिडियोहरु युट्युवमा अपलोड गरिने र सबैभन्दा बढी भ्यु प्राप्त भिडियोले मोस्ट लाइक भिडियोका रुपमा दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । यसैगरी उत्कृष्ट महिला तथा पुरुष खेलाडीले एक सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालनका लागि ११ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता संयोजक घिसिङका अनुसार च्याम्पियनसिपबाट बचेको रकम कोरोना प्रभावितहरुको उपचारका लागि खर्च गरिने भएको छ
च्याम्पियनसिपलाई सफल रुपमा सञ्चालन गर्न पूर्व राष्ट्रिय खेलाडीहरुले पनि सहयोग गरेका छन् । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो, प्रदीप व्यञ्जनकारलगायतले सहयोग गरिसकेका छन् भने विभिन्न राष्ट्रमा रहेका तेक्वान्दोकर्मीहरुले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रतियोगिता संयोजक घिसिङले जानकारी दिए ।
Previous Article

नेपालमाला
