लन्डन : कोरोना भाइरस संक्रमणपछि एन्टिबडी निर्माण क्षमतामा ‘तीव्र ह्रास’ हुने एक अध्ययनले देखाएको छ। इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार २६ प्रतिशतले एन्टिबडी निर्माणमा ह्रास आएको हो।
कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।
तिन महिनासम्म ३ लाख ६५ हजारभन्दा बढीको नमुना संकलन गरी गरिएको सो अध्ययनमा २६ प्रतिशतले एन्टिबडीमा ह्रास आएको देखिएको हो। सो अध्ययन जून महिनादेखि सेप्टेम्बरसम्म गरिएको थियो।
यस्तो ह्रास सबै उमेर समूहमा हुने अध्ययनले देखाएको छ।
जून महिनाको अन्त्यतिर र जुलाई महिनाको सुरुवातमा गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ६० जनामा एन्टीबडी पत्ता लगाउन सकिने अवस्थामा देखिएको थियो। तर सेप्टेम्बर महिनामा गरिएको परीक्षणका क्रममा एक हजारमध्ये ४४ जनामा मात्रै त्यस्तो अवस्था देखियो।
अध्ययनका अनुसार गर्मी र शरद यामको बीचमा एक चौथाइभन्दा बढीले एन्टीबडी निर्माणमो ह्रास आएको देखिन्छ। शोधकर्ता हेलेन वार्डले प्रतिरोधी क्षमता तीव्र रूपमा घटिरहेको पाइएको बताइन्।
‘रोग प्रतिरोधी क्षमता एकदमै तीव्र गतिमा घटिरहेको देखिन्छ’, उनले भनिन्, ‘पहिलो परीक्षण गरिएको अहिले तीन महिना पुगेको छ र हामीले एन्टीबडीमा २६ प्रतिशतले कमी आएको देखिरहेका छौँ।’

नेपालमाला
