पेरिस : विश्व नम्बर एक सर्वियन खेलाडी नोभाक जोकोभिचलाई पाखा लगाउँदै दोस्रो वरीयताका स्पेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनले कीर्तिमानी १३ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् । यस उपाधिसँगै नाडालले स्विट्जरल्यान्डका रोजर फेडेररले बनाएको २०औं ग्रान्डस्लाम उपाधिको कीर्तिमानसँग बराबरी गरेका छन् । १३ पटक फ्रेन्च ओपन टेनिसको उपाधि विजेता नाडालले अहिलेसम्म २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् ।
फ्रान्सको पेरिसमा आइतबार राति भएको फाइनलमा नाडालले जोकोभिचलाई ६–०, ६–२, ७–५ ले पराजित गरे । पहिलो र दोस्रो सेट सहज रुपमा जितेका नाडालले तेस्रो सेटमा भने निकै संघर्ष गर्नु परेको थियो ।
सेमिफाइनलमा ३४ वर्षीय नाडालले अर्जेन्टिनाका १४औं वरीयताका डियगो स्वार्टम्यानलाई ६–३, ६–३, ७–६(७–०) ले पराजित गर्दै जोकोभिचसँगको भिडन्त पकका गरेका थिए । जोकोभिचले भने ग्रिसका पाँचौं वरीयताका स्टेफानोस सिटसिपसलाई ६–३, ६–२, ५–७, ४–६, ६–१ ले पाखा लगाएका थिए ।
करिअरको १८औं ग्रान्डस्लाम जित्ने अभियानमा रहेका जोकोभिचको सपना भने फ्रेन्च ओपनमा पनि पूरा हुन सकेन । कोरोना भाइरसको महामारीपछि उनले सिनसिनाटी ओपन टेनिसको उपाधि जितेका थिए । त्यसलगत्तै भएको अमेरिकी (यूएस) ओपन टेनिसमा भने उनी डिस्क्वालिफाई (अयोग्य) हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए ।
उनले प्रहार गरेको बलले लाइन जर्जलाई लागेपछि जोकोभिचलाई डिस्क्वालिफाई घोषित गरिएको थियो । ३३ वर्षीय जोकोभिचले स्पेनका पाब्लो क्यारेनो बुस्टाविरुद्धको खेलमा सर्भिस गुमाएपछि रिस पोख्ने क्रममा बललाई हिर्काएका थिए । सो बलले उनको पछाडि रहेकी एक लाइन जजलाई लागेको थियो । अमेरिकी टेनिस संघले जोकोभिचले विश्व वरीयताका लागि यूएस ओपनमा प्राप्त गरेका सबै अंक खोस्नुका साथै म्याच फी बापतको रकम पनि जरिवाना गरेको थियो ।
Previous Article

नेपालमाला
