आबुधावी : मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले ६ खेलबाट आठ अंक जोडेको छ ।
मुम्बईले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.१ ओभरमा एक सय ३६ रन मात्र बनाउन सक्यो । मुम्बईलाई सहज जित दिलाउन जसप्रित बुमराहले घातक बलिङ गरे । उनले चार ओभरमा २० रन खर्चिंदै चार विकेट लिए । यसैगरी ट्रेन्ट बोल्ट र जेम्स प्याटिसनले दुई÷दुई तथा राहुल चहर र काइरन पोलार्डले एक÷एक विकेट हात पारे ।
राजस्थानका जस बटलरले ७० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानका जोफरा आर्चरले २४, टम कुरानले १५ र महिपाल लोमरोरले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९३ रनको विशाल योगफल खडा गरेको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७९ रन बनाए । यस्तै कप्तान रोहित शर्माले ३५, हार्दिक पाण्ड्याले ३०, क्विन्टन डिककले २३ र क्रुणाल पाण्ड्याले १२ रन बनाए । राजस्थानका श्रीयस गोपालले दुई तथा जोफरा आर्चर र कार्तिक त्यागीले एक÷एक विकेट लिए ।
Previous Article
प्रदेश ५ को राजधानी ‘देउखुरी' र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित
Next Article

नेपालमाला
