ओमनारायण श्रेष्ठसँगको विशेष अन्तर्वार्ता

नेपाली खेलकुदमा ओमनारायण श्रेष्ठको नाम नयाँ र नौलो होइन । भारोत्तोलनबाट खेलकुदमा पाइला राखेका श्रेष्ठले बक्सिङमा आफ्नो भविष्य खोजे । उनले बक्सिङबाटै राष्ट्रिय स्तरका प्रतियोगितामा आफूलाई अब्बल पनि सावित गरे । खेलाडी जीवन टुङ्ग्याएर पनि उनी बक्सिङकै विकास र विस्तारमा समर्पित भए । नेपाल बक्सिङ संघमा तीन कार्यकाल केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका ओमनारायण श्रेष्ठ संघको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने अभियानमा छन् ।
कोरोना भाइरसको महामारी नभएको भए नेपाल बक्सिङ संघले गत जेठमै नयाँ नेतृत्व पाइसकेको हुन्थ्यो । कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण निर्वाचन हुन नसक्दा पुरानै नेतृत्वले काम गरिरहेको छ । पछिल्लो चार वर्ष बक्सिङको विकास र विस्तारका लागि भन्दा पनि नेतृत्वको असक्षमताका कारण संघ विवादको घेरामा परेपछि ओमनारायण श्रेष्ठ नेपाली बक्सिङको श्रीवृत्तिका लागि अघि सर्न लागेका हुन् । अहिलेको असहज परिस्थितिमा संघको नेतृत्व चयनको प्रक्रिया कहिले सुरु हुन्छ भन्ने एकिन नभए पनि आफूले अध्यक्षका लागि तयारी थालिसकेको श्रेष्ठ बताउँछन् । सरल, सहयोगी र मृदुभाषी श्रेष्ठसँग बक्सिङ संघमा देखिएका विवाद र भावी नेतृत्वका लागि उनको अभियानका बारेमा केन्द्रित रहेर गरिएको कुराकानी :–

पछिल्लो समय विवादै विवादमा फस्दै आएको नेपाल बक्सिङ संघमा चुनावी सरगर्मी सुरु भएको हो ?
कोरोना भाइरसले सारा विश्वसँगै नेपाललाई पनि नगाँजेको भए नेपाल बक्सिङ संघले नयाँ नेतृत्व पाइसकेको हुन्थ्यो । अहिलेको असहज परिस्थितिका कारण संघ अहिले काम चलाउ रुपमा रहेको छ । चार वर्षे कार्यकालमा जे–जे काम भए, तिनको समीक्षा निर्वाचनका बेला हुनेछ । तर, चार वर्षे कार्यकाल सकिएर काम चलाउ अवस्थामा रहेको संघले विधान र कानुनविपरीत निर्णयहरु गर्दै आएको छ, त्यो पनि अध्यक्षको एकल तजबिजमा । काम चलाउ अवस्थामा रहेको संघले दीर्घकालीन निर्णय नगरौं भनेर हामीले भन्दाभन्दै पनि उहाँ (राम अवाले) ले मान्नु भएन र आफूखुसी निर्णय गर्दै आउनु भएको छ । त्यही कारण संघका अरु साथीहरुले चित्त दुखाउनु भएको छ । त्यही चित्त दुखाई मिडियामा पनि आइरहेको छ ।
जहाँसम्म चुनावी सरगर्मीको विषय छ, अध्यक्षले भित्रभित्रै तयारी गरिरहनु भएकै छ । भोटकै राजनीतिका लागि १४ जिल्ला पनि जबरजस्ती थप्नु भएको छ भने काम चलाउ अवस्थामा रहेको संघमा पनि नयाँ सदस्य मनोनयनलगायतका काम गरिरहनु भएको छ । जिल्लाहरुमा पनि आफू अनुकुलका कार्यसमिति गठन भइरहेको छ । अहिले असहज परिस्थितिमा पनि उहाँले चुनावी गतिविधि गरिरहनु भएकाले मैले पनि केही साथीहरुसँग सरसल्लाह गरिरहेको छु । आगामी दिनमा संघलाई कसरी सञ्चालन गर्ने भनेर साथीहरुको रायसुझाव लिइरहेको छु ।
तपाईको अध्यक्षमा दावेदारी किन त ?

पछिल्लो चार वर्षको अवधिमा दुई÷चार जना व्यक्तिले मात्र संघ चलाउने काम भयो । विधानलाई तिलाञ्जली दिने काम नेतृत्वबाट पटक पटक भयो । उहाँहरुले सबै साथीहरुलाई समेट्न सक्नु भएन । त्यही कारण सबै साथीहरुलाई समेट्नु पर्छ र उहाँहरुको भावना अनुरुप संघलाई अगाडि बढाउनु पर्छ भनेर मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । अहिलेका कार्यसमितिका बहुमत सदस्य र जिल्लाका साथीहरुले पनि तपाई अघि सर्नुपर्छ भनेकाले म अगाडि सर्न लागेको हुँ ।
पछिल्लो समय संघमा केही व्यक्तिको मात्र हालीमुहाली भएको हो त ?

अवश्य पनि । एउटा घर र टोल सुधार समिति चलाउँदा त सबैको रायसुझाव लिएर सबैलाई समेटेर चलाउनु पर्छ । नेपाल बक्सिङ संघजस्तो गरिमामय संस्था चलाउन त खेलाडी, प्रशिक्षक, निर्णायक, कार्यसमितिका साथीभाइ, जिल्लाका साथीहरु सबैलाई समेटेर सबैको रायसुझाव अनुसार काम गर्नुपर्ने हुन्छ । तर, वर्तमान अध्यक्षलाई संघ कसरी चलाउने भन्ने ज्ञान नै भएन । अध्यक्षको संघ चलाउने क्षमता नहुँदा अरु व्यक्तिले खेल्ने मौका पाए । जसले गर्दा संघ विवादमा तानियो ।

अझ स्पष्टसँग भनिदिनुस् न संघमा को हावी भयो ?
मैले स्पष्ट पारिरहनु नै पर्दैन, संघमा को हावी भइरहेको छ भन्ने कुरा आम बक्सिङप्रेमीले बुझ्नु भएकै छ । जसले महासचिव, कोषाध्यक्ष, प्रवक्तासँगै अन्तर्राष्ट्रिय डाइरेक्टर र अन्तर्राष्ट्रिय कोर्डिनेटरको भूमिका निर्वाह गरिरहेका छन् । आईबाको प्रावधान अनुसार अन्तर्राष्ट्रिय डाइरेक्टर संघको जागिरे कर्मचारी हुन्छ । त्यो व्यक्ति संघमा बस्न पाउँदैन । तर, दुखको कुरा संघमा मनोनीत ती व्यक्तिले आफूलाई मन लागेको पदहरु लिने र संघलाई बेथितिको अखडा बनाउने काम गरिरहेको छ ।
जहाँसम्म प्रवक्ताको कुरा छ, संघको पहिलो बैठकले महासचिव सविन भट्टाचार्यलाई नै त्यो जिम्मेवारी दिएको थियो । उहाँलाई प्रवक्ताबाट कहिले हटाइयो र नयाँ प्रवक्ता कहिले बनाइयो भन्ने संघका अधिकांश पदाधिकारीलाई नै अत्तोपत्तो छैन । यसरी मनलाग्दी रुपमा पद भिरेर मात्र बक्सिङको विकास हुन्छजस्तो मलाई लाग्दैन । यो विषयमा हामीलाई अध्यक्षलाई पटक पटक अवगत गराए पनि उहाँले चासो नै दिनु भएन ।
उहाँहरुले त १३औं दक्षिण एसियाली खेलकुदको सफलतालाई भजाएर बक्सिङमा आमूल परिवर्तन ग¥यौं भनिराख्नु भएको छ नि ?

दक्षिण एसियाली खेलकुदमा हासिल गरेको सफलता हाम्रा लागि ऐतिहासिक हो । यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । तर, यो सफलतामा संघका सबैले होस्टेमा हैंसे गरेको भए अझै राम्रो हुन्थ्यो । १३औं सागमा २÷४ जना पदाधिकारी मात्र खट्नु भयो । कार्यसमितिका सबैले काम गरेको भए अझ राम्रो नतिजा आउँथ्यो । नेतृत्वले सबैलाई समेट्न नसक्नु कमजोरी भयो ।
सबैलाई समेट्न नसक्नु नेतृत्वको कमजोरी मात्रै हो कि असक्षमता पनि हो ?

स्पष्ट रुपमा भन्नु पर्दा यो नेतृत्वको असक्षमता हो । नेतृत्व भनेको सबैको अभिभावक हो । अभिभावक भएपछि सबैलाई समेट्न सक्नुपर्छ । बक्सिङको विकासका नाममा कसैमाथि निषेधको राजनीति गर्नु हुँदैन । अहिलेको नेतृत्वले निषेधको राजनीति गरिरहेको छ । आफूलाई मन पर्नेलाई च्याप्ने र मन नपरेकाहरुलाई फ्याल्ने काम भइरहेको छ ।

यसो भए अहिलेको नेतृत्व पूर्ण रुपमा असफल नै भएको हो ?
जुन काम गर्छु भनेर नेतृत्व लिएको हो, त्यो काम गर्न नसकेपछि त असफल त हो नि । चार वर्षको कार्यकालमा बक्सिङको विकासका लागि कुनै काम भएको तपाईहरुले पाउनु भएको छ र ? यत्रो समयमा कुनै पनि काम गर्न नसक्नेलाई कसरी सफल मान्न सकिन्छ । दक्षिण एसियाली खेलकुदमा प्राप्त सफलतामा हामीलाई पनि गौरव छ । तर, संधै त्यसलाई मात्र देखाएर हुँदैन । अरु काम पनि त गर्नुपर्छ । अहिले नेतृत्वले दक्षिण एसियाली खेलकुदलाई मात्र भजाएर आफूलाई महान देखाउने काम गरिरहेको छ । पहिले महिला कोटा थिएन । अहिले महिला कोटा थपिएकाले पनि ऐतिहासिक सफलता हासिल गरेको हो । हामी यही सफलतामा मात्रै रमाइरहने होइन, अब नयाँ लक्ष्य निर्धारण गरेर अगाडि बढ्नु पर्छ भन्ने मेरो जोड हो ।

तपाईले पनि राम अवाले नेतृत्वकै कार्यसमितिमा बसेर काम गर्नुभयो । त्यसको जस र अपजसको भागीदार त तपाई पनि हुनुपर्ने हो नि होइन ?
मैले आफूले लिनुपर्ने जस र अपजसको भागीदार हुन तयार छु । म संघको मनोनित सदस्य हुँ । मैले नेतृत्वलाई राम्रो काम गर्न सल्लाह सुझाव दिने हो । नेतृत्वलाई सही बाटोमा हिंडाउन खोज्ने हो । तर, नेतृत्वले हाम्रो सल्लाह सुभावलाई सुन्न नै नचाहेपछि मैले मात्रै गर्न सक्ने केही छैन ।
० आगामी कार्यकालका लागि अध्यक्षमा तपाईको उम्मेदवारी निश्चित हो ?
अवश्य पनि निश्चित हो । मैले नेपाल बक्सिङ संघको अध्यक्षका लागि उम्मेदवारी दिने निश्चित गरिसकेको छु । यसमा सबैको साथ र सहयोग रहने विश्वास पनि गरेको छु ।

पछि ब्याक हुने सम्भावना कत्तिको छ ?
म कुनै पनि हालतमा ब्याक हुन्न । अगाडि बढेपछि बढें बढें । मेरो अभियानलाई कसैले पनि रोक्न सक्तैन ।

अध्यक्षमा उम्मेदवारी त दिन्छु भन्नु भएको छ । निर्वाचित हुने सम्भावना चाहिँ कत्तिको छ ?
मलाई आशा छ, मेरो अभियानमा सबै साथीभाइ र आम बक्सिङप्रेमीले साथ दिनुहुनेछ । विगत चार वर्षको अवधिमा नेपाली बक्सिङको अवस्था कस्तो भयो भन्ने कुरा उहाँहरुलाई थाहा नै छ । फेरि पनि संघलाई नातावाद, कृपावाद र विवादको भुमरीमै होमिरहने कि साँच्चै बक्सिङको विकास गर्ने भन्ने कुरा आम बक्सिङप्रेमीले बुझ्नु जरुरी छ ।

तपाईको जोड संघमा सामूहिक रुपमा निर्णय भएन, व्यक्तिगत रुपमा मात्रै निर्णयहरु भयो भन्ने हो ?
मैले उठाउन खोजेको विषय नै त्यही हो । २०७३ सालमा नयाँ नेतृत्व चयन भएपछि केही निर्णयहरु सामूहिक रुपमा भएका छन् । त्यस बाहेक जेजति निर्णय भएको छ, कुनै पनि सामूहिक रुपमा भएको छैन । नेतृत्वलाई जे मन लाग्यो त्यही निर्णय भइरहेको छ । बैठकको कोरम पु¥याउन र बहुमतसिद्ध गर्न घरघरमा धाएर माइन्युटमा सही गराउने काम भइरहेको छ । अहिले पनि अध्यक्ष अल्पमतमा छन् । २५ जनाको कार्यसमिति बस्यो भने उहाँ अल्पमतमा पर्नुहुन्छ । बैठकका नाममा घरघरमा गएर हस्ताक्षर गराएर बहुमत सिद्ध गर्ने काम भइरहेको छ ।

पहिले त सबै जना मिलेर नै संघ चलाएका थिए होइनन् ? विवादको बीउ चाहिँ कहाँबाट रोपियो ?
दक्षिण एसियाली बक्सिङ फेडरेसनको महासचिवमा पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठ चुनिएपछि विवाद बढ्दै गएको हो । विष्णुगोपाल श्रेष्ठ कुन आधारमा महासचिव हुनुभयो भन्ने विषयमा नेतृत्वले चित्तबुझ्दो जवाफ दिन नसकेपछि विवादले उग्र रुप लिएको हो । यही विषयलाई लिएर धेरै साथीहरुले चित्त पनि दुखाउनु भयो । अझ महासचिवको अधिकार खोस्ने, निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यबहाक कोषाध्यक्ष नियुक्त गर्नेलगायतका कामले गर्दा पनि धेरै साथीहरुले चित्त दुखाउनु भएको छ ।

पछिल्लो समय १४ जिल्ला थपिएको भनिएको छ । त्यसले निर्वाचनमा मान्यता पाउँछ कि पाउँदैन ?
१४ जिल्लाले मान्यता पाउने कुनै आधार छैन । स्टेरिङ कमिटीको नाममा भएको निर्णय नै आफैमा विधान विपरीत छ । त्यसमा पनि बैठक नै नबसी सबैको घरघरमा गएर हस्ताक्षर गरिएको पाइएको छ । यसरी गलत मनसायले गरिएको निर्णयले मान्यता पाउने कुनै आधार छैन र पाउँदा पनि पाउँदैन । साँच्चिकै बक्सिङको विकास चाहने हो भने ७७ जिल्लामा नै संगठन विस्तार गरौं भन्ने मेरो जोड हो ।

पदावधि सकिएको संघमा सदस्य मनोनीत गरिएको छ, त्यो साउन १५ र १६ गतेको बैठकको निर्णय भनेर । नयाँ सदस्य नियुक्तिको विषय त्यो बैठकको एजेन्डा थियो र छलफल गरेर नै सदस्य नियुक्त गरिएको हो ?
साउन १५ र १६ गतेको बैठकमा नयाँ सदस्य नियुक्तिको कुनै एजेन्डा नै थिएन । त्यस विषयमा छलफल पनि भएको थिएन । त्यो बैठक बस्दासम्म सदस्य पद नै खाली भएको थिएन । अहिले आएर त्यही बैठकको निर्णय भन्दै सदस्य मनोनीत गरिएको सुन्नमा आएको छ । अहिले जुन व्यक्तिलाई नियुक्त गरिएको छ, उहाँ बक्सिङका लागि चाहिने व्यक्ति हो । तर, कार्यकाल समाप्त भइसकेको अवस्थामा नियुक्त गर्नु चाहिँ गलत हो । यस बारेमा आधिकारिक हामीलाई जानकारी पनि गराइएको छैन ।

2 2 votes
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments