काठमाडौं : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जनाएको छ । आन्दोलनमा अनावश्यक दमन गरेर सरकारले आफ्नो पराजित मानसिकता देखाएको नेविसंघको निष्कर्ष छ ।
मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा बुटवलबाट पक्राउ परेका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेललगायतलाई विनाशर्त रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेका नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल तथा नेपाली कांग्रेसका नेताहरू हरिलाल पाण्डे, शिव गैरे, विष्णु पोखरेल, ज्ञानेन्द्र कार्की, नेपाल तरुण दलका क्षेत्रिय सभापति प्रकाश गैरे र पत्रकार कमला पाण्डे लगायतलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ ।
काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर गाडीमा बुटवलमा आउँदै गर्दा राजमार्ग चौराहा नजिक मुख्यमन्त्री सवार गाडी र उनको स्कर्टिङमा रहेका दुई वटा गाडी माथि ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ । सो घटनामा संलग्न भएको भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

नेपालमाला
