काठमाडौं जिल्लामा मात्र ८१७ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २२७ महिला र ५४५ पुरुष गरेर ८१७ जनामा संक्रमण पुष्टि भएको छ। यो काठमाडौंको अहिलेसम्मकै उच्च संक्रमण हो।

त्यसैगरी ललितपुरमा ३० महिला र ३८ पुरुष गरेर ६८ र भक्तपुरमा २६ महिला र ३२ पुरुष गरेर ५८ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर गरेर उपत्यकामा २४ घण्टामा ९४३ जनामा संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा ९४३ सहित देशभर १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ।

२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो।

काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा संक्रमण पुष्टि भएको छ। अहिले नेपालमा २२० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच ५०९ पुगेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ५०९ पुगेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक महिलासहित १० पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीका तीनजना ५६, ५० र २७ वर्षीय पुरुष रहेका छन्।

त्यसैगरी काठमाडौं उपत्यकामा चार जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका दुई ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।

त्यसैगरी रुपन्देहीका तीन जनाको मृत्यु भएको छ। रुपन्देहीमा मृत्यु हुनेमा ८०, ५५ र ४२ वर्षीय पुरुष रहेका छन्। बाँकेकी ३४ वर्षीया महिलाको समेत मृत्यु भएको छ।

बिहीबार १२ हजार ४४४ जनाको पीसीआर भएको छ। योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ३३ हजार ९४७ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ।

होम आइसोलेसनमा ११ हजार ६९ जना रहेका छन् भने १० हजार ७६१ जना संस्थागत आइसोलेशनमा छन्। मन्त्रालयका अनुसार अहिले पाँच हजार ७७ जना क्वारेन्टाइनमा रहेका छन्।

मन्त्रालयका अनुसार मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments