
पोखरामा अत्याधिक वर्षा
पोखरा : नेपालमा सर्वाधिक पानी पर्ने शहर हो पोखरा। नेपालकै धेरै पानी पर्ने स्थान कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले गाउँ हो। लुम्ले गाउँसँगै जोडिएको पोखरा महानगरपालिकामा यस वर्ष वर्षा सुरु भएसँगै अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २० सम्म २२ वर्ष अघिको सर्वाधिक पानी परेको रेकड तोड्ने गरि पानी परेको छ।
पोखरामा अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर २१ तारिख सम्मको समयमा ५२ सय ४४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम प्रसाद ढकालले जानकारी दिए। यस अघि सन् १९९८ को जुन १० देखि सेप्टेम्बर २३ सम्ममा सर्वाधिक पानी परेको रेकर्ड ४८ सय ७९ मिलिमिटर रहेको पनि कार्यालयका प्रमुख ढकालले बताए। नेपालमा अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बर महिनाको २३ तारिख सम्मलाई मौषम अवधी मानिन्छ। कुनै वर्ष यो समय २/३ दिन लम्बिने पनि उनले सुनाए। मौषम अवधी सकिन लागेकोले अब भने धेरै पानी नपर्ने उनले बताए।
पोखरामा वर्षभरिमा ३ हजार देखि ३२ सय मिलिमिटर वर्षा हुनुलाई औषत मानिन्छ। पोखरामा वर्षा मौषममा महिनामा ६४० मिलिमिटर पानी पर्नुलाई औषत भानिन्छ। यस वर्ष सेप्टेम्बर १ देखि २० तारिख सम्म सरदर ११ सय ७५ मिलिमिटर पानी परेको उनले बताए। वर्ष भरि सबैभन्दा धेरै पानी पर्ने महिना भनेको जुलाई र अगष्ट महिना हो। सेप्टेम्बर महिनामा पनि केही वर्ष धेरै पानी पर्ने गरेको उनले सुनाए। सन् १९९८ को सेप्टेम्बर महिनामा ७ सय ४० मिलिमिटर पानी परेको थियो। यसै गरि सन् २००७ को सेम्टेम्बर महिनामा ११ सय ८६ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कर्यालय पोखराको तथ्याङ्क रहेको छ। पोखरामा २४ घण्टामा सबैभन्दा धेरै पानी परेको रेकर्ड ३ सय ५७ मिलिमिटर हो। सन् २००१ अगष्ट महिनाको १८ तारिखमा २४ घण्टामा सर्वाधिक पानी परेको रेकर्ड कायम भएको थियो। यो रेकर्ड भने २२ वर्ष पछि सर्वाधिक पानी परेको वर्ष सन् २०२० मा पनि तोडीएको छैन।
दिनहुँजसो भीषण वर्षा भएकोले पोखरा वरपरका डाँडामा पहिरो गएका छन्। पोखरामा यही अवधीमा पहिरोबाट घर भत्कदा ११ जनाको मृत्यु भएको छ। पोखरा १८ सराङ्कोटस्थित गोठादी, पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजा, पोखरा २६ लेखनाथ, कास्कीको माछापुच्र्छे गाउँपालिका ८ स्थित खोराकोमुख लगायतका क्षेत्रमा पहिरो जाँदा ज्युधनको क्षति भएको हो।