काठमाडौं : सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।
यसैगरी बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
गौतमलाई राष्ट्रिय सभा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो। लगत्तै प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए। त्यसले सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको थियो।
प्रधानमन्त्रीले युवराज खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष दाहाल, उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेका थिए। उनीहरू नमानेपछि आफैंले गौतमको प्रस्ताव ल्याएका थिए।