विश्व आत्महत्या रोकथाम दिवसले आत्महत्या रोकिएला ?

मदन बस्नेत

कोरोनाको बढ्दो प्रकोपले महामारीकै रुप धारण गरिरहेका बेला आत्महत्या एउटा मन्द महामारी हो भन्दा झ्वाट्ट विश्वास गर्न गाह्रो हुन्छ तर उपलब्ध तथ्य र तथ्यांकलाई सूक्ष्म रुपमा केलाउने हो भने आङ नै सिरिङ हुने स्थिति छ । नेपालमा मात्रै कोरोनाको यो अवधिमा झन्डै एघार सयभन्दा बढीले आत्महत्या गरिसकेको परिस्थितिमा आत्महत्या एउटा नयाँ महामारीका रुपमा चुनौती बनेर खडा भएको छ ।
मानिस मरणशील प्राणी हो । त्यसैले जन्मने हरेक मानिसले एक न एक दिन मर्नै पर्छ । यो ध्रुव सत्य हो । मर्न पर्छ भन्ने जान्दा जान्दै पनि मानिसहरु मर्न डराउँछन् र कहिल्यै मर्न नपाए हुन्थ्यो भन्ठान्छन् । तर, त्यसरी कहिल्यै मर्न नपाए हुन्थ्यो भन्ठान्ने मानिसले नै जब मर्नु बाहेक अन्य कुनै विकल्प देख्दैन, मर्नुलाई नै समाधान ठान्छ र स्वभाविक र प्राकृतिक रुपमा हुने मृत्युलाई समेत नपर्खेर आफूले आफैलाई समाप्त पार्छ तब त्यस्तो मृत्यु, आत्महत्या कहलाउँछ । त्यसैले सामान्य अर्थमा भन्नुपर्दा, आफैंले आफ्नो हत्या गर्नु नै आत्महत्या हो ।
मानिसले गर्ने आत्महत्याको इतिहासलाई अध्ययन र विश्लेषण गर्ने हो भने यसको इतिहास निकै लामो रहेको पाइन्छ । हाम्रा पौराणिक धर्मग्रन्थहरुमा विभिन्न देवीदेवता र महापुरुषहरुले खास कालखण्डमा पृथ्वीमा अवतरित भएको र आफू जुन काम गर्न आएको हो त्यो काम सकिएपछि ‘स्वयंम् समाधीस्थ’ भएको कथा र प्रसंङ पढ्न पाइन्छ । वास्तवमा त्यसरी समाधीस्थ हुनु पनि आत्महत्या नै हो ।
त्यस अर्थमा, आत्महत्या वर्तमान समाजमा मात्र घटित भएको कुनै खास नयाँ र नौलो घटना होइन । यसको इतिहास निकै पुरानो छ । पश्चिमी संसारको प्राचीन रोम र ग्रिसमा उत्पीडनले गर्दा दासहरूले आत्महत्या गर्थे र त्यसलाई स्वभाविक रुपमा नै लिइन्थ्यो । मध्ययुगमा आइपुग्दा भने आत्महत्यालाई गैरकानुनी मानियो र दण्डनीय अपराध ठानियो । त्यसरी आत्महत्या गर्नेको शवलाई चिहानभन्दा बाहिरै गाडिन्थ्यो । बाह्रौं शताब्दीमा चीनका जिन वंशीय सम्राट आइजोङले मंगोलहरुले विजय पाएपछि आत्महत्या गरेका थिए भन्ने इतिहासमा उल्लेख छ । लाखौं लाख यहुदी र अन्य निर्दोष मानिसहरुलाई निर्मम र पाशविक तबरले नरसंहार गर्ने एडोल्फ हिटलरले पनि रुसी सेनाको घेरामा परेपछि आत्महत्या गरेका थिए ।


नेपालमा भने आत्महत्याको ठोस इतिहास पाइँदैन । ललितपुरका मल्ल राजा विश्वजित मल्लले आत्महत्या गरेको भन्ने इतिहास भेटिन्छ भने आधुनिक कालमा भीमसेन थापाले गरेको भनिएको आत्महत्या नेपाली इतिहासमा निकै चर्चित छ ।
निबन्धकार भैरव अर्याल, नायिका श्रीषा कार्की, जेसिका खड्का र गायिका योगिता मोक्तानले पनि आत्महत्या गरेका हुन् । महिला अधिकारवादी योगमाया न्यौपाने, सर्वोच्च अदालतका न्यायाधीश भरतराज उप्रेती र युवा पुस्ताले अत्याधिक रुचाएका सफल नेपाली ¥यापर यम बुद्धले पनि आत्महत्या गरेका थिए । त्यस अघि र पछि पनि समाजमा चिनिएका वा नाम कमाएका ब्यक्तिहरु बाहेक अरु थुप्रै सर्वसाधरण ब्यक्तिहरुबाट आत्महत्याका घटनाहरु घटित भइसकेका छन् । हाल आएर कोरोनाको प्रकोप बढेपछि त्यसको प्रभावमा आत्महत्या गर्नेहरुको सूची भने लामै छ ।
आत्महत्याको दर र मात्रा धेरै वा थोरै हुन सक्ला तर त्यस्तो घटनाहरु संसारको सबै जसो देशहरुमा घटित भएका हुन्छन् र त्यसले संसारका सबै राष्ट्र, धर्म, समाज, वर्ग, लिङ्ग र समुदायका मानिसहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित पनि पारिरहेको हुन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक चालिस सेकेन्डमा एक जना ब्यक्तिले आत्महत्या गरिरहेको हुन्छ भने त्यसरी आफैले आफ्नो हत्या गरेर जीवन समाप्त पार्नेहरुको संख्या वार्षिक आठ लाखभन्दा बढी छ ।
उपलब्ध तथ्यांकलाई सूक्ष्म रुपमा केलाउने हो भने संसारमै सबैभन्दा बढी आत्महत्या हुने ठाउँ पूर्वी युरोप हो । लिथुवानिया संसारमै सबैभन्दा बढी आत्महत्या हुने देशमा पर्दछ । लिथुवानियापछि गुयना, क्रोयसिया, दक्षिण कोरिया, हंगेरी, श्रीलंकालगायत देश संसारमै बढी आत्महत्या हुने देशमा पर्छन् । विकासोन्मुख देश मात्र होइन विकसित देश पनि आत्महत्याको प्रकोपबाट पीडित छन् । यसअन्तर्गत जापान १७औं, फ्रान्स ४७औं, अमेरिका ५०औं, जर्मनी ७७औं र बेलायत १०५औं स्थानमा पर्छन् । विकसित राष्ट्र क्यानडामा औसतमा दिनमा १० जनाले आत्महत्या गरेका हुन्छन् भने वार्षिक झन्डै चार हजार जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । क्यानडामा मानिसको मृत्यु हुने प्रमुख कारणहरुमध्ये आत्महत्या नवौं स्थानमा रहेको छ ।
आश्चर्य त के भने निरन्तरको द्वन्द्व, हिंसा र अस्थिरताको कारण संसार मै सबैभन्दा संकटग्रस्त मुलुकहरु भनेर चिनिने अफगानिस्तान, इराक र सिरियामा भने आत्महत्याको दर तुलनात्मक रुपमा अन्यत्र भन्दा निकै कम छ । क्यारेबियन द्वीपका बाहमस, जमैका, बार्बाडोस, बर्मुडा आदि क्षेत्र संसारकै सबैभन्दा कम आत्महत्या हुने ठाउँमा पर्दछ ।
नेपालमा दैनिक करिव एक दर्जनले आत्महत्या गर्छन् भने वर्षेनि पाँच हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ । यो संख्या कुनै महामारीभन्दा कम होइन । समग्र तथ्यांकलाई केलाउने हो भने आत्महत्यालाई ‘मन्द महामारी’ भन्दा अन्यथा नहोला ।

 

कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिसलाई सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर, मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको विकृत मानसिक अवस्थाको उपज हो । मनोचिकित्सकहरु व्यक्तिको मानसिक मनोदशालाई आत्महत्याको कारक मान्छन् । मानिस मनोवैज्ञानिक रुपमा कमजोर हुँदै जाँदा चरम निराशामा पुगेर आत्महत्याको बाटो रोज्छन् भन्ने उनीहरुको निष्कर्ष रहेको छ ।

कोरोनाको प्रकोप बढ्दै जाँदा दिनहुँजसो आत्महत्याको समाचार पनि आइरहेकै छ तर विडम्बना, समाजमा महामारीको रुप ग्रहण गरिसकेको यो आत्महत्याको विषय भने केवल कुराकानीको विषयमात्र बन्ने गरेको छ । बढ्दो रूपमा मानव समाजलाई नै हल्लाउने गरी भइरहेकोे आत्महत्याको घटनालाई अब ढिला नगरी गम्भीर समस्याका रूपमा व्याख्या गर्ने बेला भइसकेको छ ।
कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिसलाई सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ । धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सिधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर, मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको विकृत मानसिक अवस्थाको उपज हो । मनोचिकित्सकहरु व्यक्तिको मानसिक मनोदशालाई आत्महत्याको कारक मान्छन् । मानिस मनोवैज्ञानिक रुपमा कमजोर हुँदै जाँदा चरम निराशामा पुगेर आत्महत्याको बाटो रोज्छन् भन्ने उनीहरुको निष्कर्ष रहेको छ ।
जैविक दृष्टिमा आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिन आदि स्नायु रसायनहरूको कमी हुन्छ । यस्ता रसायनहरूको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्छ र उनीहरूमा आक्रामक तथा विध्वंसक आचारण बढ्छ, जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् ।
कतिपय विद्वानहरु त वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् भन्ने मत राख्छन् । समाजशास्त्रीहरू आत्महत्यालाई बैयक्तिक घटना मान्दैनन् । उनीहरु त्यसलाई एउटा सामाजिक घटना मान्दछन् र आत्महत्याको पछाडिको प्रमुख कारण पनि ब्यक्तिको मानसिक अवस्था नभएर सामाजिक कारण नै जिम्मेवार हुने तर्क गर्दछन् ।
समाजशास्त्री इमाइल दुर्खाइमले आफ्नो चर्चित कृति ‘आत्महत्या’ मा आत्महत्यालाई व्यक्तिगत क्रिया मान्न नहुने तर्क गरेका छन् । उनले आत्महत्यालाई एउटा सामाजिक क्रियाको रुपमा ब्याख्या र विश्लेषण गरेका छन् । उनका अनुसार मानिसलाई समाजसँग जोड्ने सम्बन्ध बलियो वा कमजोर हुनुले आत्महत्याको स्थिति निर्माण हुन्छ । आत्महत्या मूलतः समाजमा सामाजिक दूरी बढेसँगै बढ्छ । त्यो सामाजिक दूरीले एक्लोपन, असहायपन निम्त्याउँछ । सामाजिक दूरी बढेपछि मानिसले आफ्नो सुरक्षा देख्दैन र आत्महत्यालाई अपनाउन पुग्दछ ।
त्यसैले समग्रमा हेर्दा, आत्महत्याका पछाडि एउटा व्यक्तिको मानसिक मनोदशासँगै थुप्रै सामाजिक र आर्थिक पक्ष पनि जोडिएको हुन्छ । हो, आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगहरूबाट पीडित भएका हुन्छन् । तर आत्महत्यालाई डिप्रेसन वा मानसिक तनावसँग मात्रै जोडेर हेरियो भने त्यस्तो विश्लेषण सर्वथा अपूर्ण हुनेछ किनभने आत्महत्याका पछाडि व्यक्तिको मानसिक मनोदशासँगै थुप्रै सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, लैङ्गिकलगायतका पक्षहरु जोडिएका र जिम्मेवार रहेका हुन्छन् । त्यसैले ती सबैको समग्रतामा बुझ्न र ब्याख्या विश्लेषण गर्न आवश्यक छ ।
मानिसले किन आत्महत्या गर्छ ? त्यसको जवाफ केवल डिप्रेसन वा उसको मानसिक स्थिति हुन सक्दैन । डिप्रेसन एउटा कारण हुनसक्ला तर, त्यो नै मात्र पूर्ण र पर्याप्त कारण हो भन्ने निष्कर्षमा पुग्न सकिँदैन । यो सत्य हो कि, सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकताभन्दा बढी उतारचढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविष्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनताका कारणहरु हुन् र यस्तो खाले उदासीनताले आत्महत्यालाई बढावा दिन्छ पनि । त्यसैले डिप्रेसन आत्महत्याको एउटा उत्प्रेरणात्मक तत्व मान्न सकिन्छ । त्यो उत्प्रेरणा जगाउने प्रमुख कारण भनेको सामाजिक आर्थिक कारण नै हो । तिनै सामाजिक कारणहरूले गर्दा मानिसले आत्महत्या गरिरहेका हुन्छन् ।
संसारभर घटित भएका आत्महत्याका घटनाहरुलाई केलाउँदा मानिसहरुले आत्महत्या गर्ने प्रमुख कारणहरु भनेको परीक्षामा असफलता, प्रेममा विछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भ, व्यापार–व्यवसायमा घाटा तथा क्षति, अधिक ऋण, सामाजिक अपमान तथा बहिष्कार, आत्मसम्मानमा ठेस लाग्नु, झुटो आरोप र लाञ्छना, सामाजिक उपेक्षा, जागिरबाट बर्खास्ती, सार्वजनिक गालीबेइज्जती, एक्लोपन, गल्ती वा अपराधबोध, ज्यादा महत्वकांक्षा, आफ्नो अति नै निकट र प्रियजन तथा आफन्तको मृत्यु, उच्च मानसिक तनाव, मादक पदार्थको अत्याधिक सेवन, दुव्र्यसनी, कुलत, पारपाचुके, आपसी सम्बन्धमा तनाव, कटुता, यौन समस्या, दाइजोसम्बन्धी कलह, घरेलु हिंसा तथा पारिवारिक विखण्डन, बेरोजगारी, रोग, भोक तथा अन्य आर्थिक समस्या, बलात्कारको पीडा, आत्महत्याको पारिवारिक इतिहास, गम्भीर तथा पीडादायक शारीरिक रोगहरू जस्तैः क्यान्सर तथा एड्स आदिबाट छुट्कारा पाउने इच्छा, जातीय विभेद, नकारात्मक सोच आदि जस्ता विविध सामाजिक आर्थिक कारणहरु छन् । यी र यस्ता खाले समस्याको समाधान गर्न नसक्दा कतिपय मानिसहरूले आफ्नो जीवनलीला आत्महत्याद्वारा समाप्त परेको देखिन्छ ।
यतिखेर निकै चर्चामा रहेको बलिउडका अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणलाई नै सूक्ष्म रुपमा विश्लेषण गर्ने हो भने उनको आत्महत्या सुरुमा मिडियामा प्रचार गरेजस्तो डिप्रेसनका कारणले नभएर बलिउडभित्रको परिवारवाद र नातावादको कारणले गर्दा भएको हो भन्ने विवरण बाहिर चर्चामा आइसकेको छ । उनको हातमा परेको फिल्महरु पाँच–छ महिनाको बीचमा सात वटा फिल्महरु खोसिनु, उनले अभिनय गरेको फिल्म रिलिज हुनबाट रोक्नु, ठूला भनिएका प्रोडक्सन हाउसहरुले उनलाई बहिष्कार गर्नु, सामाजिक जमघट र भोज भतेरमा नबोलाउनु, ‘अवार्ड शो’ हरुमा नडाक्नु र राम्रो अभिनयका बाबजूद कुनै पनि पुरस्कार नदिनु आदि कारणहरु उनको आत्महत्यामा प्रमुख रुपमा जिम्मेवार देखिन्छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार सेलिब्रेटीहरुको आत्महत्याको खवरलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्ने गरेका कारण आत्महत्या ग्लामर बन्न पुगेको निष्कर्ष निकालेको छ र चर्चा कमाउनका लागि आत्महत्या गर्न प्रेरित गर्ने गरेको ठहर पनि गरेको छ । आत्महत्या गर्ने त्यस्ता सेलिब्रेटीबाट प्रभावित भएर सर्वसाधारण मानिस वा उनीहरुका फ्यानहरुले समेत आत्महत्या गरिरहेको देखिन्छ । भारतीय अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि उनका दुई फ्यानले उनकै नाममा आत्महत्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका थिए । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डोरीमा झुण्डिएर आत्महत्या गरिन् भने बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरिसकेका छन् । आत्महत्या गरेका ती पछिल्लो युवकले ‘सुशान्तले त आत्महत्या गर्न सक्छन् भने म किन सक्दिन ?’ भन्ने सुसाइड नोट लेखेर आत्महत्या गरेको भन्ने समाचार भारतीय मिडियामा आइसकेको छ ।
आशा गरौं, विश्व जगतले आत्महत्यालाई ढिलो चाँडो एउटा मन्द महामारीको रुपमा स्वीकार्दै त्यसको प्रभावकारी नियन्त्रणको दिशामा उल्लेखनीय कदम चाल्नेछ ।

2 1 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments