यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने

ललितपुर (रासस) :  ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको छ । बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले कोभिड महामारीका कारण मूलुकमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले जोखिम कम गर्न आज करुणामयको क्षमापूजा गरिने, भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः २६ गते यदि साइत प्राप्त भएमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने जानकारी गराउनुभयो ।

मच्छिन्द्रनाथ जात्राका विधि प्रकृया हाल रथ भएको ठाउँमा सम्पन्न गर्ने र पछिल्ला वर्षमा विगतका वर्ष झैं जात्रा सुसम्पन्न गरिनेछ । महर्जनले बिहीबार कुनै आधिकारिकताबेगर असम्बन्धित समूहबाट मच्छिन्द्रनाथको रथ तान्ने प्रयास भएको र स्थिति अराजक बनेकोप्रति भत्सना गर्नुभएको छ । यही भदौ ११ गते ज्यापू समाज यलमा रथसँगसम्बन्धित सरोकारवालाको विशेष बैठक बसेर मलमास अगावै जात्रा सम्पन्न गर्ने, गुठी संस्थानको प्रधान कार्यालयका विज्ञसँग परामर्श गरी आएको निचोडमाथि जातीय खलः पुचहरुले सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोहीअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने भद्र सहमति भएको थियो ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याएर भोटो जात्रा गर्ने गरिन्थ्यो । यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको हो ।

विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएका ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

भोटो जात्राको कथा    

किंवदन्तीअनुसार काठमाडौँ उपत्यकामा रहेको टौदहमा एक जोडी नाग दम्पती बस्थ्यो । त्यो नागहरुका राजा कर्कोटक नागको जोडी थियो । एकपटक नागिनीको आँखा बिरामी भयो । राजाले नागिनीको आँखा उपचार गराउने वैद्य खोज्ने क्रममा भक्तपुरमा एक जना जान्ने ज्यापू वैद्य रहेको थाहा पाए । कर्कोटक नाग ज्यापू वैद्यलाई खोज्न गए । नागले ज्यापूलाई नागिनीको आँखा दुखेको बिन्ती बिसाए । ती ज्यापू वैद्यले नागको अनुरोध स्वीकारे । दुवै टौदह पुगे । वैद्यले नागिनीका आँखामा मलम बनाएर लगाइदिए । उनको आँखा निको भयो । नागनागिनी ज्यादै खुशी भएर ज्यापू वैद्यलाई अनेक पुरस्कार दिए । सो पुरस्कारमा अनेक किसिमका मणि जडेको झलझल झल्कने भोटो पनि थियो । त्यो भोटो लगाएर ज्यापू वैद्य ढल्कँदै हिँड्थे । ज्यापूको त्यति राम्रो भोटो देखेर भूतलाई लोभ लाग्यो । ज्यापूले भोटो फुकालेर आलीमा राखी खेत खन्न थालेपछि भूतले भोटो सुटुक्क चोरेर लग्यो । हस्याङ्फस्याङ गर्दै वैद्य भूतको पछि लागे । उनले भूतलाई समात्न सकेनन् ।

पाटनमा त्यसअघि मच्छिन्द्रनाथको रथ तान्ने मात्र चलन थियो । यस समय मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल ल्याइपु¥याउँदा उपत्यकावासी र भूतप्रेतहरु पनि जात्रा हेर्न आउँथे । त्यो भोटो चोर्ने भूत पनि जात्रामा आउँछ कि भनेर ज्यापू त्यहाँ आइपुगे । नभन्दै झल्झली झल्केको भोटो लगाएर भूत जात्रा हेर्न आएको रहेछ । त्यो भूत झिलिक्क देखिएर मिलिक्क हराउँथ्यो । बल्लतल्ल वैद्यले पछाडिबाट भूतका पाखुरामा च्याप्प समाते । उनले भूतसँग आफ्नो भोटो मागे । भूतले दिन मानेन । दुवैका बीच ठूलो झगडा भयो । राजा गुणकामदेव पनि मच्छिन्द्रनाथको दर्शन गर्न र जात्रा हेर्न त्यहाँ आएका थिए । राजाका भारदारले ती दुवैबीच ठूलो झगडा भएपछि राजाका अगाडि हाजिर गराए । वैद्यले राजासामु “महाराज मलाई कर्कोटक नागले दिएको भोटो यसले चो¥यो” भने । भूतले भोटो मकैैबारीमा आफूले पाएको राजासामु बतायो । गुणकामदेव न्यायी र धर्मात्मा राजा भएकाले दुवैसँग प्रमाण मागी निर्णय नहुञ्जेल त्यो भोटो नासोका रुपमा मच्छिन्द्रनाथको पुजारीलाई राख्न अनुरोध गरेको मानिन्छ ।

प्रमाणका लागि ज्यापू वैद्य टौदह किनारमा पुगेर कर्कोट नागलाई भेटे । नागले आफू पनि मान्छेको रुप लिई सेतो लुगा लगाएर मच्छिन्द्रनाथ जात्रामा साक्षी बन्न आउने बताए । “म आउँदा हुरी चल्नेछ । म अरुभन्दा अग्लो पनि देखिने छु”, कर्कोटक नागले भने । त्यस समय जावलाखेलमा मच्छिन्द्रनाथको रथ आइपुगेको तीन दिन भएको थियो । ज्यापू भोटो पाउने आश लिएर बेलैमा जावलाखेल आए ।

राजा गुणकामदेव पनि त्यहाँ आए । एक छिन हुरी चल्यो तर वैद्यले हुलमा अरुभन्दा अग्लो मान्छेलाई ठम्याउन सकेनन् । राजाले त्यो कसको भोटो हो भनी मच्छिन्द्रनाथ रथका चारै कुनाबाट देखाउने आज्ञा दिए तर साक्षी प्रमाणहसहित त्यो भोटो लिन कोही पनि अघि सरेनन् भन्ने मान्यता अझसम्म नेपालमा रहिआएको छ । यो काठमाडांै उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । यस जात्रा हेर्न काठमाडौं उपत्यकाका तीनै शहरबाट श्रद्धालु भक्तजन पाटन आउने चलन थियो । काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकितेश्वर करुणामयको स्थान निकै उच्च रहेको पाटन सुन्धारा निवासी सूर्यमान डंगोलले बताउनुभयो ।

सहमतिमा निकास निकाल्न आग्रह    

नेपाल आदिवासी जनजाति महासङ्घले रातो ललितपुरस्थित मत्स्येन्द्रनाथको रथ तान्न खोज्नेलाई प्रहरीले दमन गरेको भन्दै सहमतिका आधारमा निकास निकाल्न आग्रह गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी तत्काल अधिकारवाला सम्पूर्ण पक्षसँग अर्थपूर्ण छलफलसहितको सहमतिमा निकास निकाल्न पनि अनुरोध गरेको छ ।

मत्स्येन्द्रनाथको रथ राखिएको पुल्चोक क्षेत्रमा भेला भएका स्थानीयवासीलाई प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै बल प्रयोग गरेपछि बिहीबार दिनभर स्थिति तनावग्रस्त भएको थियो । स्थिति काबुमा राख्न शुक्रबार ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाइएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments