काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
बुधबार मृत्यु हुनेमा मोरङकी ४६ र भक्तपुरकी ५३ वर्षीया महिला र अन्य ९ पुरुष छन् । यस्तै कैलालीका ४५ र ५० वर्षीय दुई पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाराका ४१ र ४६ वर्षीय दुई पुरुष , बाँकेका ३७ एक, काठमाडौंका ५१ वर्षीय एक पुरुष गरेर ११ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुार १३ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ८८५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या १९ हजार ५०४ पुगेको छ। १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन्।
जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन्। नेपालमा पीसीआर परीक्षणको कुल संख्या ६ लाख ३५ हजार २५२ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। काठमाडौंका २३०, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता गौतमले जानकारी दिए।