हरितालिका तीज : नारी संघर्ष र स्वतन्त्रताको गौरव गाथा कि सामाजिक उत्पीडनविरुद्धको मुक्ति पर्व !

मदन बस्नेत

नेपाली महिलाहरुले बडो हर्ष र उल्लासका साथ मनाउने चाड हरितालिका तीज यसपटक कोरोनाको चपेटामा परेको छ । काठमाडौं उपत्यकालगायत अन्य ४३ भन्दा बढी जिल्लाहरु लकडाउनमा रहेको र नेपालीहरु बसोबास गर्ने विश्वका अधिकांश मुलुकहरूमा पनि कोरोनाको नयाँ प्रोटोकलका कारण ठूलठूला समारोह र जमघट गर्न नपाइने भएपछि समूहमा रमाइलो गरी धुमधामले मनाइने तीज यसपटक प्रतिबन्धित अवस्थामा पुगेको छ र फेसबुक, युट्युब, म्यासेन्जर र जुमबाट भर्चुअल रुपमा नै चित्त बुझाउनु पर्ने बाध्यता आइलागेको छ ।
पुरुषको दीर्घायुको कामना गर्दै दिनभरि भोकै प्यासै ब्रत बस्नुपर्ने, पुरुषलाई देवता मानेर पुज्नुपर्ने, पुरुष पहिलो दर्जाको मानिस र महिलालाई दोस्रो दर्जाको मानिस ठान्ने, पुरुष सधैं सर्वश्रेष्ठ हो र महिलाले पुरुषको सेवा गर्नुपर्छ भन्ने महिला विरोधी मान्यताबाट तीज पर्व प्रेरित भएकाले त्यसको विरोध गर्नु पर्छ भन्नेहरु र त्यही बहानामा पुरुषमाथि खनिनेहरुको गति र मति भने कोरोना प्रकोपकाबीच पनि रोकिएको छैन । सञ्चारका विभिन्न माध्यममार्फत तीजको मेसोमा पुरुषलाई गाली गर्दै छापिएका विभिन्न लेख, टिप्पणी, विचार र युट्युबका बहसहरुले त्यसको पुष्टि गरेको छ ।
संस्कृति र परम्पराको नाममा पितृसत्तात्मक समाजले नारीमाथि थोपरेको शोषण र दमन हो भनेर तीजको धार्मिक, साँस्कृतिक, सामाजिक तथा साँगीतिक महत्वमाथि धावा बोल्ने महिला अधिकारवादीहरुको तीजको सतही ब्याख्या र विश्लेषण आफैमा अपूर्ण र पूर्वाग्रही देखिन्छ । त्यसैले तीज बास्तवमा हो के र कसरी मनाउने ? तीज महिला अधिकारको पक्षमा छ कि विपक्षमा ? भन्ने विषयमा बहस र छलफल हुन जरुरी छ ।
धार्मिक कथन र शास्त्रीय प्रमाण अनुसार हिमालय पुत्री पार्वतीले भगवान शिवलाई औधी मन पराउँथिन् तर, उनका पिताले भने शिवलाई पटक्कै मन पराउँदैन थिए । पार्वतीको विवाह उनको इच्छा विपरीत भगवान विष्णुसँग गरिदिने निर्णय गरेपछि पिताको त्यो निर्णयविरुद्ध उनले विद्रोह गरेको देखिन्छ । उनले त्यो बेलाको प्रचलित सामाजिक ब्यवस्था अनुरुप बाबुआमाले रोजिदिएको पुरुषसँग विवाह नगरेर आफैले रोजेको पुरुषसँग विवाह गर्न हिम्मत जुटाउनु र घरपरिवार र समाजिक मूल्य मान्यताको विरुद्धमा उभिनु चानचुने कुरा थिएन ।
साथी संगीको सहयोगमा पिताको गृह त्याग गरेर जंगलमा लुकि बस्ने र शिव पति पाउन निराहार बस्ने पार्वतीको त्यो कदम तात्कालिन समाजिक परिवेशमा निकै ठूलो विद्रोह थियो । त्यसरी साथी संगीमार्फत हरण भएर एकान्तबासमा जाने र आफूले इच्छाएको ब्यक्तिसँग विवाह गर्ने पार्वतीको त्यो निर्णय प्रक्रिया र परिघटनालाई नै पछि गएर हरितालिका तीज भन्न थालियो र पर्वको रुपमा मनाउन सुरु गरियो । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी हुन्छ ।
पार्वतीले जंगलमै अन्न जल केही नखाई निराहर बसेपछि उनको त्यो विद्रोहले सार्थक रुप लियो र उनको विवाह उनकै इच्छा मुताबिक शिवसँग भयो । त्यसरी आफ्नो इच्छानुसारको ब्यक्तिसँग विवाह भएकोमा उनीलगायत उनका साथीहरुले त्यो साहसिक कार्य सफल भएकोमा प्रेमको विजयोत्सवका रुपमा मनाएको सो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । त्यसै बेलादेखि तीज पर्वको थालनी भएको मानिन्छ र त्यसकै निरन्तरता नै आजभोलि मनाइने तीज हो ।
तीजको सामाजिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक पृष्ठभूमिलाई सुक्ष्म रुपमा विश्लेषण गर्ने हो भने तीज नारीमाथि पुरुषले थोपरेको वा पितृसत्ताले लादेको संस्कृतिको रुपमा बुझ्नु गलत हुनेछ । तीज वास्तवमा नारीले पितृसत्ताविरुद्ध गरेको विद्रोहको विजय गाथा हो । बाबुआमाले रोजिदिएको होइन, आफूले इच्छाएको वर पाउनु पर्छ भन्ने माग पूरा गर्न नारीले गरेको भोक हड्ताल र सत्याग्रहको एउटा सफल र अनुकरणीय राजनीतिक अभियान पनि हो, तीज ।

डलरको खेती गर्न पल्किएका र पश्चिमा एनजीओ र आइएनजीओको पछि लागेर हाम्रो मौलिक संस्कृति र परम्पराको विरोध गर्दै हिँडेका स्वनामधारी महिला अधिकारकर्मीहरुले गरेको तीजको विरोधको कुनै तुक छैन । पश्चिमाले मनाउने ‘भ्यालेन्टाइन डे’ लाई महान देख्ने र ‘प्रेम दिवस’ मान्नेहरुले पार्वतीले गरेको सामाजिक विद्रोह र सफल प्रेम कथाको महोत्सव ‘तीज पर्व’ लाई पितृसत्तावादी देख्नु र पुरुषले महिलामाथि थोपरेको संस्कृति ठान्नु गलत हो । नारीभित्रका आवाजलाई बाहिर निकाल्न साहस दिलाउने यो चाडले नारी संघर्ष र नारी स्वतन्त्रताको वकालत गर्दछ र पार्वतीले सत्ययुगमा प्राप्त गरेको त्यो विजय गाथाको स्मरण गराउँदछ ।
सुरुका दिनमा तीज, नारी संघर्षको प्रतिमूर्तिका रुपमा मानिँदै आएको र पार्वतीको त्याग, तपस्या र महत्वलाई आत्मसात गर्दै मनाउने गरिएकोमा कालान्तरमा विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने प्रचलन स्थापित हुन पुगेको हो । तीजमा विशेषगरी विवाहित महिलाहरु आफनो श्रीमान्, बालबच्चा, परिवार र स्वयम् आफ्नो सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् ।
त्यसैले श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको ब्रत बस्नु महिलामाथि थोपरिएको दासता र अत्याचार हो भनेर एकोहोरो प्रचार गर्नु गलत हो । त्यसमाथि विवाहिता पत्नीले आफ्नो पतिको दीर्घायुको निम्ति निराहार बस्दा त्यसको विरोध किन ? के त्यसो भए विवाहिता पत्नीले आफ्नो पतिको नाममा ब्रत नराखेर अरु कसैको नाममा ब्रत बस्नु पर्ने हो त ?
साँस्कृतिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व हो भने सामाजिक रुपमा विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लगाउन दिई पराई घरमा भएका अन्याय अत्याचार ज्यादतीलाई गीतमार्फत भण्डाफोर गर्ने संस्कृति बोकेको सामाजिक उत्पीडनविरुद्धको मुक्ति पर्व पनि हो । तीजले महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केही समयका लागि नै भएता पनि छुटकारा दिलाउने र आफ्नो माइती र साथी संगीसँग समय बिताउने अवसर जुटाएको हुन्छ ।
पछिल्लो समयमा रुढीवादी परम्परागत सामन्ती मान्यताको विरोध गर्ने नाममा पुँजीवादी उपभोक्तावादी संस्कृतिले तीजलाई नराम्रोसँग जकडिरहेको छ । जसको नकारात्मक परिणामस्वरुप थुप्रै विकृतिहरु आज हामीले भोगिरहेका छौं । तीज नारीहरुबीच सामाजिक र आर्थिक प्रतिष्ठा प्रदर्शन गर्ने माध्यम बन्दै गर्दा तीज मनाउन खोज्ने तर हैसियत नपुग्ने नेपाली महिला दिदी बहिनीहरुको स्थिति अत्यन्तै दारुण अवस्थामा पुगेको छ ।
तीज आउनुभन्दा एक महिना अघिदेखि नै होटेल र पार्टी प्यालेसमा जम्मा भएर दर खाने आधुनिक प्रचलनले तीजको मानमर्दन मात्र भएको छैन, समाजमा हुने खाने र हुँदा खाने महिलाहरुबीच ठूलो दरार पैदा गरेको छ । दर खाने नाममा संभ्रान्त र हुने खाने महिलाहरुले महंगा गरगहना र साडी प्रदर्शन गर्दै चाडलाई फेसन र सामाजिक प्रतिष्ठाको रुपमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि तीज अचेल धनी र गरिवबीचको दूरी मापन गर्ने यन्त्रका रुपमा विकसित र विकृत हुँदै गएको छ । हुनेखानेको त्यस्तो भड्किलो रवाफ र पर्व मनाउने शैली र हर्कतले धन नभएका श्रमजीवि नारीहरु कत्ति बिरक्तिँदा हुन् ? के त्यसको हेक्का तीजको मेलोमा पुरुषको खेदो खन्ने ध्याउन्नमा लागेका महिला अधिकारकर्मीहरुले राख्न भ्याएका छन् ?
एकथरी नारी तीजका नाममा एक महिना अघिदेखि दर खाएर नाचेको नाच्यै गर्ने अनि अर्को थरी विहान बेलुकाको छाक टार्न गिटी कुट्ने, ढुंगा, बालुवा, इट्टा बोकर, घाँस दाउरा, ज्याला मजदुरी गर्नु पर्ने जुन विभेद समाजमा देखिएको छ, त्यसमा पुरुषलाई मात्र दोष दिएर उम्कन मिल्दैन । पुरुषलाई सत्तो सराप गरेपछि महिला अधिकार प्राप्ति हुन्छ भन्ठान्ने डलरबादी महिला अधिकारवादीहरुको घैंटामा घाम लाग्न जरुरी छ ।
तीज पुरुषले महिलामाथि थोपरेको सामन्ती संस्कृति हो भनेर अनर्गल प्रचारवाजी गर्दै भाषण ठोक्ने र मिडियामा विचार सम्प्रेषण गर्ने ती महिलावादी नेतृ तथा एनजीओ आइएनजीओका डलरधारीहरुले तीजलाई बिकृत नतुल्याऔं र भड्किलो र प्रदर्शनमुखी नबनाऔँ भनेर सचेतनाका स्वर र आवाजहरु उराल्न किन सक्दैनन् ? किन चाहदैनन् ?
जहाँसम्म तीजमा ब्रत बस्ने विधिलाई लिएर सवाल उठाउने गरिएको छ, त्यसमा सबै नारीले पार्वतीले जस्तै गरी निराहार ब्रत बस्नुपर्छ भन्ने कुनै किसिमको धार्मिक र शास्त्रीय अनिवार्यता छैन । त्यसैले ब्रत बस्न चाहनेले आफ्नो इच्छा अनुसार निराहार, जलाहार र फलाहार कुनै पनि किसिमको ब्रत बस्न सक्ने हुनाले त्यसमा पुरुषलाई दोष दिनुको कुनै अर्थ छैन । शरीर सुडोल बनाउन डायटिङ र फास्टिङ गर्दा आधुनिक हुने पढेलेखेका संभ्रान्त नारीहरुले एक दिन निराहार ब्रत बस्दैमा त्यत्रो आपत्ति जनाउनु र रोइलो गर्दै हिड्नु अलि नसुहाउने विषय हो ।
हिजोआज तीज भड्किलो र उताउलो हुँदैछ । आधुनिकीकरण र पश्चिमाकरणको दलदलमा फस्दै गएर यसको धार्मिक र साँस्कृतिक महिमा नै ओझेल पर्ने र मौलिकता नै हराउने पो हो कि भन्ने स्थिति पैदा भएको छ । तीजको परम्परागत ब्यञ्जन र परिकारयुक्त दरको ठाउँ अचेल पाँचतारे होटल र ठूलाठूला पार्टी प्यालेसका आधुनिक मेन्यु र मदिराको बोतलले ओगटेको छ । सुखदुख र प्रेमभावका तीज गीत अचेल गाइजात्रे, भद्दा र उत्ताउलो बन्दै गएको छ । फलस्वरूप तीजको परम्परागत मान्यता र मौलिक रितिथिति कुरीतितर्फ लम्किएको छ । त्यसैले सभ्य र भब्य तीज आजको आवश्यकता हो ।
सूर्यविनायक, भक्तपुर ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments