बुधबार थप ११६ जनामा कोरोना पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा पाँच हजार ९० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुर्खेतमा २८ संक्रमित थपिएका छन् । सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६ र रौतहटका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कास्की, तनहुँ, सल्यान, दैलेखका ३र३ जना, जुम्ला, डडेलधुरा र सल्यानका २र२ जना तथा धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एकएक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यसैगरी विभिन्न अस्पताल तथा आइसोलेसनबाट थप ६१७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनी कोरोना संक्रमणका कारण भारतको बेंगलोरमा मृत्यु भएका दाइको अन्त्येष्टीमा सहभागी भएर २४ असारमा मात्र घर फर्किएका थिए । उनलाई स्थानीय तहले क्वारेन्टिनमा राखेको थियो । रुघाखोकी, ज्वराका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई असार २९ गते वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
उनलाई कोरोना भाइरसको संक्रमण भएको बुधबार मात्र पुष्टि भएको थियो । स्वास्थ्य गम्भीर भएपछि बुधबार नै भेन्टिलेटरमा सारिएको र दिउँसो २ः३० बजे मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments